किरात र आदिवासीहरुमाथि यसरी लादिएको थियो दसैं

 

dasain-n-limbu-890x395_cहिन्दू पौराणिक कथाअनुसार देवतागणको विधान नमानेवापत वा देउता गणका मानिसहरुलाई दुःख दिएवापत ब्रम्हा, विष्णु र महेश्वर (हिन्दूकरण गरिएका किरातेश्वर, पारोहाङ)को त्रिशक्तिद्वारा निर्मित नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)ले असुर (अनार्य. आदिवासी) योद्धा महिषासुरलाई वध गरेको हुँदा देउता गणले विजयोत्सवको रुपमा ‘दसैं’ चाड मनाउँदै आएको प्रचार गरिएको छ । नवदुर्गाको आराधना गरी ‘दसैं’ दिनमा ‘रावणको वध’ रामद्वारा गरिएको अर्को कथा पनि ‘दसैं वा विजया दशमी’को प्रसङ्गमा जोडिने गरिन्छ ।

‘हिन्दूहरुको एकमात्र महान् चाड’को रुपमा रहेको दसैंलाई राज्य शक्तिको प्रयोग गरी खसजातीय अन्धजातिवादी/ब्राम्हणवादी हिन्दू शासक वर्गले सबै नेपालीहरु (आदिवासी जनजातिहरु)लाई समेत जबर्जस्ती सो ‘दसैं’ लादेर ल्याएको हो । यही कारण २०४६ सालको परिवर्तनपश्चात् सदियौँदेखि आफ्नो राज्य, भाषा, संस्कृति, धर्मबाट वञ्चित आदिवासी जनजातिहरुले ‘दसैंलाई बहिष्कार’ गर्ने अभियान पूर्वबाट थाले । आदिवासी जनजातिहरुले ‘दसैं’ आदिवासी जनजातिको नभई ‘हिन्दू धर्मावलम्वी आर्यजातीय चाड’ भएको भन्दै बहिष्कार गर्दै आएका छन्, जसलाई हिन्दूधर्म–संस्कृतिको विशेषाधिकारयुक्त एकाधिकारविरुद्धको ‘धार्मिक वा सांस्कृतिक विद्रोह’ मान्न सकिन्छ । पूर्वका आदिवासी जनजातिहरुले ‘दसैं’ बहिष्कार गर्न थालेपछि अहिले यो राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा व्यापक बन्न पुगेको छ ।

यस सन्दर्भमा दसैंबारे यो कसको चाड हो ? कहिलेदेखि, कसरी पूर्वीक्षेत्र अर्थात् किरात प्रदेशमा प्रचलित भयो र यसलाई बहिष्कार गर्ने कुरा कतिको तर्क एवं तथ्यसङ्गत छ भन्ने कुरा छ्यानब्यान गर्न यहाँ आवश्यक ठानिएको छ । दसैंको छ्यानब्यान गर्नुअघि के कुरा बुझ्न जरुरी छ भने पूर्वका आदिवासी जनजातिहरु भन्नाले मूलतः किरात हुन् । पहिलेको सभ्यतासूचक मानिने ‘किरात’को अर्थ खुम्चिएर हाल जातिवाचक हुनुका साथै यसअन्तर्गत नेपालका सुनुवार, याक्खा, राई र लिम्बुले मात्रै घोषित रुपमा आफूलाई स्वीकारेका छन्, बाँकी बौद्ध धर्मावलम्बी र भारोपेली भाषी हुन पुगेका छन् । यो कुरा भारतका विद्वान राहुल सांकृत्यायनले समेत प्रस्ट्याएका छन् ।

उनका अनुसार ‘हिमाली जातिहरुका भाषा तथा अन्य कुराको अध्ययनबाट के थाह हुन्छ भने हिमालय र त्यस क्षेत्रमा पञ्जाबदेखि काश्मीरसम्म बसोबास गर्ने आदिवासी किरात थिए, जो पूर्वमा आसाम, बर्मा हुँदै कम्बुज (कम्बोडिया) साथै फैलँदै गए ।…. पहाडका किरात–लाहुल, मिलाणा (कुल्लु भारत), कनोर (किन्नर) मरिछा (गढवाल), मगर, गुरुङ, सुनुवार, तामाङ, नेवार, राई, लिम्बु, याखा (याक्खा–कलमी), लेप्चा (सिक्किम)ले आफ्नो भाषा बोल्दछन्, तर तराईका किरातले आफ्नो मातृभाषा बिर्सेर दक्षिणी छिमेकीको भाषा (भारोेपेली–कलमी) भाषा बोल्दछ– त्यही थारु जाति हो ।’१

किरातबारे यति संक्षिप्त जानकारीपछि अब जाउँ, दसैं चाड कसको हो ? यो चाड ‘किरात चाड’ हो कि हैन र यो नेपालमा कहिलेदेखि कसरी प्रचलित भयो ? हिन्दू पौराणिक कथाका आधारमा सोही धर्मअनुकूलका विधिविधान अपनाइने दसैंलाई सुरुमै यो ‘किरात चाड’ हैन भनेर किटानीसाथ बुझ्दा हुन्छ । तर, दसैंमा लगाइने ‘टीका’ र ‘मातृशक्ति पूजा’ले यो चाड विवादास्पद भने भएको छ र यसमा यदाकदा ‘किरात आभास’ मिसिएको पाउन सकिन्छ । तर, गाँठी कुरा भनेको हिन्दूकरणको सवाल हो । यो पूर्णतया हिन्दूकृत र हिन्दूधर्मद्वारा अनुप्राणित चाड हो, जसमा मातृसत्ता र महिलालाई समान दृष्टिले हेर्ने आदिवासीय किरात प्रवृत्ति, संस्कार र भावना अभिनिहित भने रहेको छ । त्यसैले दसैंलाई बहिष्कार गर्दा वा विश्लेषण गर्दा यसको स्वरुपलाई केलाउन आवश्यक छ ।

ramlihang-ra-ridama

रातो रङ्गबाहेक आदिवासी जनजातिहरुले दसैंमा लगाइने दही–चामलको सेतो टीकामा उभौलीउधौलीको ‘अन्नपूजा’को प्रभाव वा लक्षण रहेको पाउन सकिन्छ । त्यहाँसम्म दसैंलाई किरात चाडको रुपमा मान्न सकिएला । त्यस्तै मातृशक्ति वा सत्ताको पूजा गरिने कुरा पनि किराती नै देखिन्छ । तर, त्यतिकै आधारमा कविताराम श्रेष्ठले२ ‘दसैं’लाई ‘किरात चाड’ नै भन्ने दलिल गर्नु कुनै महिलासँग आफ्नो आमाको अलिकति अनुहार मिल्छ भन्दैमा उसलाई आफ्नै आमा मान्नु बराबर हो तर त्यसो गर्न सकिँदैन । त्यसमा पनि ‘दुर्गा देवी’लाई असुर जाति महिषासुर, शुम्भ, निशुम्भजस्ता आदिवासी योद्धालाई मारेको हिन्दू आर्य मिथक उनेर फूलको होइन, काउछोको माला बनाइएको यस चाड दसैंलाई स्वीकार गर्नु आदिवासी जनजातिहरुले स्वअस्तित्वमाथि नै वञ्चरो प्रहार गर्नु सरह हो ।

असुर, अनार्य, दानव, दैत्यलाई नै किन किराती वा जनजातिले आफ्ना पूर्वज मानेर आफूलाई ‘राक्षसको सन्तान’ भन्न रुचाउँछन् भन्ने प्रश्न पनि यहाँनेर अक्सर उठाउने गरिन्छ वा उठाएको पाइन्छ । यससम्बन्धमा पनि प्रस्ट हुनु जरुरी छ । हिन्दूधर्मका यजुर्वेद, अथर्व वेद र वैदिक साहित्यिक कृतिमा असुरहरुले आर्यहरुविरुद्ध लडाइँ लडेको हुनाले यिनीहरुलाई आर्यहरुले प्रेत (शैतान, राक्षस)जस्तै कुकर्मी भएको सोचाइ राखेको कुरा कीथको ‘द रेलिजन एण्ड फिलोसफी अफ वेद एण्ड उपनिषद’ (पृ. २३१)मा उल्लेख गरिएको छ । त्यसलाई ध्यानमा गर्दा आज ‘असुर’ वा ‘दानव’ भनिएका प्राचीन आदिवासीहरु नै भएको पुष्टि हुन्छ ।३

त्यस्तै, नेपालका प्रसिद्ध नृवंश विद्वान जनकलाल शर्माले ‘त्रिगर्त अर्थात् काँगडा उपत्यकामा किराती जातिका अनेक अश्वमयी किल्ला भएको र तीमध्ये आर्यहरुले लुटेर लिएको वर्णन ऋग्वेदको छैठौँ मण्डलको सत्चालिसौँ सूक्तको दोस्रो, एक्काइसौँ र बाइसौँ मन्त्रमा स्पष्टसँग उल्लेख भएको’ बताएका छन् । उनका अनुसार ऋग्वेदमा प्रयुक्त ‘किलात’ (किरात) तथा ‘आकुलि’ असुरका पुरोहितलाई भनिन्थ्यो भन्ने कुराको उल्लेख शतपथब्राम्हण, मैत्रायणी संहिता, काठकसंहिता त्तैत्तरीय संहितामा आउँछ र किरातहरु पनि ‘असुर’ थिए भन्ने कुरामा कुनै सन्देह छैन । उनी भन्छन्, “ईसाको एघारौँ शताब्दीसम्म काँगडा उपत्यकाको वैजनाथलाई ‘किरग्राम’ भनिन्थ्यो भन्ने कुरा त्यहीँको शिलालेखले बताउँछ । ‘किर’ शब्दले मूल अर्थमा सुँगुरलाई बुझाउँछ ।….. वैजनाथको शिलालेखमा प्रयोग गरिएको ‘किरग्राम’ मा ‘किर’ शब्द किरातको छोटकरी रुप हो । कारण सुँगुरको गाउँ हुँदैन, पाल्नेको गाउँ हुन्छ । यहाँ किरग्राम भन्नाले किरातको गाउँ संझिनुपर्छ । ‘किर’ अर्थात् किरातहरु आर्यका लागि दस्यु (असुर), दुश्मन थिए ।”४

उपर्युक्त भनाइले एकातिर आर्यहरुले किरातहरुका किल्लामाथि आक्रमण गरेर लुटपाट मच्चाएको र अर्कोतिर आफ्ना स्वार्थलाई टक्कर दिने वा आफ्ना समूहको हित र अस्तित्वका लागि लड्नेहरुलाई उल्टै असुर, दस्यु र दुश्मनजस्ता कुविशेषण जथाभावी आरोपित गरेको प्रस्ट हुन्छ । यसबाट के सिद्ध हुन्छ भने आर्यहरुले ‘वध’ वा ‘हत्या’ गरेका ‘असुर’ भनेका उसकालका ‘किरात’ वा ‘आदिवासी’ नै हुन् ।

अब जाउँ, नेपालमा दसैं कहिलेदेखि प्रारम्भ भयो र कसरी नेपालभरि फैलाइयो भन्नेबारेमा लुकाइएका इतिहासको उत्खननतर्फ । नेपालमा दसैं लिच्छविकालमै भित्रिएको देखिन्छ । किरात इतिहासविद् दुर्गाहाङ याक्खा राईका अनुसार ‘हिन्दूस्तानमा ३ देखि साढे ५ इ. शताब्दीसम्ममा लिच्छविहरुका समकालीन शासकहरु प्रतापी गुप्त सम्राटहरुको देखासिकी नेपालमा दुरुस्त उतारेका थिए ।… लिच्छविकालिन नेपालको इतिहासलाई सिंहावलोकन गर्ने हो भने कतिपय लिच्छविकालिन धार्मिक तथा सांस्कृतिक परम्परा आजसम्मै जीवन्त छन्, तीमध्ये दसैं एक हो । भारतेली गुप्त कालमा सिर्जित नारी र अस्त्रशक्ति उपासनाको नया अवधारणालाई ‘देवी दुर्गा’ पूजनको अर्थमा रुपान्तरित भएको छ ।’५

यसरी लिच्छवि कालमा भित्रिएको दसैं आजको जस्तो भने पक्कै थिएन । आजको रुप त गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालमा एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार गर्नेे क्रममा १८२५ सालमा काठमाडौं खाल्डो (किरात भाषामा ‘यलाखोम’)माथि कब्जा जमाएपछि मात्र सिर्जना गरिएको हो । उनले राज्य विस्तार गर्ने क्रममा १८३० सालमा किरात प्रदेशमाथि आक्रमण गरेपछि शाहखलकको इष्टदेवीको रुपमा रहेको ‘दुर्गादेवी’लाई ‘राष्ट्रिय देवी’को रुपमा स्थापित गर्दै ‘दसैं चाड’लाई राज्यशक्तिको बलमा सर्वत्र लादिएको हो ।

राजा पृथ्वीनारायणले १८३१ आश्विन वदी १० मा पूर्वी किरात हान्न खटिएका अभिमानसिंह बस्नेतलाई लेखिएको पत्रको शिरानमा ‘श्री दुर्गा सहायक’ उल्लेख गरिएकोले ‘दुर्गा देवी (भवानी)’ शाह राजखलकको ‘इष्टदेवी’ भएको प्रस्टिन्छ । दुर्गादेवी र दसैं चाड पनि राजेन्द्र शाहले पृथ्वीनारायण शाहकै शासनकालदेखि स्थानीय प्रशासनका ‘एजेन्ट’ बनाई राखिएका वल्लो र माझ किरात प्रदेशका अमाली राई, मझिया, थरी, मुखिया, जिमीदार तालुकदार आदि र पल्लो किरात प्रदेशका लिम्बु ‘सुब्बा’लाई बडादसैंमा पशुपंक्षीको मार हानी दुर्गा पूजा गर्न प्रलोभनसहित लालमोहर गरिदिएका थिए । १८७७ सालमा गरिएको सो लालमोहरमा माझ किरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा सित्तैमा खेताला पात), बेगार (ज्याला नदिई लगाइने काम) ‘सिसार’ आदि सित्तैमा उपभोग गर्न पाउने व्यवस्था गर्दै एक ठाउँमा लेखिएको छ– “…गाउँ १ को दसैंमा भेडामार (पगरी राईले ४ माना, रैती राईले १ मानाका दरले अमाली राईलाई बुझाउनुपर्ने दस्तुर) वलकका बोको १ को रुपया १, खाँड पूजा (दसैं)को घरही चावल माना १ का हिसाबले अमालीलाई तिर्नु………..।’६

यसरी किरात भूमिमा स्थानीय प्रशासनिक ‘एजेण्ट’ किरातहरु (राई अमाली र सुब्बा)हरुलाई प्रलोभन देखाएर दसैं चाड फैलाउने कार्य गरिएको थियो । यसबाट गोर्खाली राजाको ‘फुटाउ र शासन गर’ सिद्धान्तअनुरुप ‘हिन्दूकृत दसैं किरात प्रदेशमा फैलाउने काम सफल भयो । यसमा हाम्रा पुर्खाहरुको पनि गल्ती देखिन्छ, उनीहरुले पृथ्वीनारायणका विभिन्न पगरी र पदको लोभमा फसेर दसैंलाई फैलाउने काममा सहयोग गरेका थिए ।

यसरी गोर्खाली शाह राजाहरुको कालमा किरात प्रदेशमा हिन्दू चाड–दसैं प्रलोभनका आधारमा फैलाउने षड्यन्त्र भए पनि प्रकृतिपूजक किरातहरुले त्यसलाई पूर्णरुपमा स्वीकार गरिसकेका थिएनन् । जब नेपाली राजनीतिक इतिहासमा १९०३ सालमा कोतपर्व हुँदा त्यसको रक्तरञ्जित आहालबाट जंगबहादुर राणाको उदय भयो, त्यसपछि किरात प्रदेशलाई हिन्दूकरण गर्ने र हिन्दू चाड दसैंलाई राज्यशक्तिको बलमा खूनी तवरले लाद्ने कामलाई तीव्रतर पारियो ।

शाह राजाहरुले प्रलोभनका आधारमा ‘राई अमाली’ र ‘सुब्बा’हरुमार्फत् ‘खाँडपूजा’को रुपमा दसैंलाई किरात प्रदेशमा भित्र्याए पनि त्यसको विरोध किरातहरुले गरिरहेका थिए । त्यसको ऐतिहासिक घटनारुपी प्रमाणको रुपमा ‘छथर थुम’ धनकुटाका अठपहरे राईहरुले “दसैं हामी किरातीहरुको चाड हैन, हामी दसैं मान्दैनौ” भनी बहिष्कार गर्दा त्यसरी त्यतिबेलै दसैं बहिष्कार गर्ने अभियानको नेतृत्व गर्ने दुई किराती नेताहरु रामलीहाङ र रिदामालाई जंगबहादुरका ‘तिलङ्गा सेना’ (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटा लगाउने तत्कालीन अत्याचारी सीपाही)हरुले हत्या गरेका थिए ।७

यो घटनापछि ‘तिलङ्गा’हरुले दुई किरात सहिदको रगतले घरको भित्ता वा ढोकामा ‘पञ्जाछाप’ अंकित गर्दै दसैंलाई अनिवार्य रुपमा मानी टीका चलाउने र प्रत्येक दसैंमा दसैं मानेको प्रमाण वा सूचनास्वरुप घरको भित्ता वा ढोकामा कुनै पशुपंक्षी मार हानी त्यसको रगतले ‘पञ्जाछाप’ लाउनुपर्ने उर्दी जारी गरेका थिए । सो घटनापछि नै बोका र अन्य पशुपंक्षी काटेर घरको भित्तामा ‘पञ्जाछाप’ लगाउने चलन चलेको हो । कतिपय गाउँमा ‘पञ्जाछाप’मात्रै होइन, पाउ (खुट्टा)को रक्तछापसमेत लगाई ‘दसैं मनाएको’ प्रमाण देखाइनुपर्ने उर्दी गरिएको थियो । उर्दी नमानेमा दसैं बहिष्कारवादी दुई किरात सहिदहरुको नियति भोग्नुपर्ने कुरा पनि उर्दीमा जनाइएको थियो । ‘तिलङ्गाहरु’को भयको प्रभावका रुपमा अझै पनि किरात प्रदेशका घरहरुमा दसैंमा मार हानेका पशुपंक्षीहरुको रगतको ‘पञ्जाछाप’ लगाउने प्रचलन यदाकदा देख्न सकिन्छ ।

यस्तै किसिमको घटनासँग सादृश्य राख्ने अर्को घटना गोर्खाली राजा द्रव्य शाहले लिगलिग कोट विजय गर्दा घटित भएको मगरहरु बताउ“छन् । राजा हुने दौड प्रतियोगितामा संलग्न भएका सोझासीधा मगरहरुमाथि अचानक आक्रमण गरेर उनका सेनाले मगर योद्धाहरुलाई मारेर राज्य हत्याएका थिए र मगर योद्धाहरुको रगतमा चामल मुछी ‘रातोटीका’ लगाई ‘खाँडपूजा’ (दसैंको पूर्व रुप) मान्दै विजयोत्सव मनाएका थिए । त्यहीँ कारण मगरहरुले दसैंमा अद्यापि आफ्ना पुर्खाको रगतले मुछिएको प्रतीकस्वरुपको ‘रातोटीका’ लगाउँदैनन्, त्यसको सट्टा ‘सेतोटीका’ लगाउँछन् ।

यी तथ्यले ‘बडाददसैं’ वा ‘दसैं’ किरात चाड नभएको पुष्टि गर्छन् । अरु तार्किक आधार पनि छन् यसमा । जस्तो, नेपालको शाहवंशीय दसैं र भारतको दसैंमा भिन्नता । भारतमा ‘दशहरा’को रुपमा मनाउने दसैंमा हिन्दू पौराणिक कथा समान भएता पनि भारतमा ‘टीका’ लाउने र ‘मार’ हान्ने प्रचलन छैन । यसले देखाउँछ, यो चाड अस्त्रशक्ति पूजाको रुपमा भए पनि शाहवंशीय राज्य विस्तारको क्रममा आदिवासी जनजातिमाथि भएका आक्रमणलाई समेत समावेश गर्दै दसैंलाई हिंसात्मक बनाई किरात प्रदेशमा लादिएको थियो । तर किरात धर्मको अन्नपूजा (उधौली–उभौली) र अग्रज–पुर्खालाई आदर, सम्मान र आशिर्वाद लिने किरात संस्कार पनि समावेश गरिएको थियो ।

इतिहासकार बाबुराम आचार्यले मकवानपुरमा मुकुन्द सेनले राज्य गरेको अवस्थासम्म पूर्वी नेपालमा एकजना पनि बाहुन–क्षेत्रीले पाइला नटेकेको कुरा “पृथ्वीनारायण शाहको जीवनी”मा उल्लेख गरेका छन् ।८ यो कथन र किरात चौतरिया (प्रधानमन्त्री) हुने र ‘राय’ उपाधिधारी हिन्दू सेन राजाहरुको इतिहासमा पनि कहीँ कतै दसैंको उल्लेख नहुनुले पनि दसैं शाहवंशीय राजाको भएको र तथाकथित एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार (राज्य विस्तार)सँगै किरात प्रदेशमाथि लादिएको प्रस्ट हुन्छ । दसैं किरात अथवा नेपालका आदिवासी जनजातिको चाड होइन भन्ने कुराको प्रमाणको रुपमा फूलपातीको दिन गोर्खा दरबारबाट जमरा र फूलपाती बाजागाजाका साथ ‘बढाइँ’ गर्दै नारायणहिटी दरबारमा ल्याइने परम्परालाई उभ्याउन सकिन्छ ।

gopal-dewan

दसैं चाड किरातहरुको होइन भन्ने कुराको सबैभन्दा दह्रो प्रमाण हो, किरात मुन्धुम । किरातहरुको जीवनदर्शन र धर्मआचरणको सङ्ग्रह मानिने ‘मुन्धुम’ (श्रुतिवेद)मा दसैंको उल्लेख समेत छैन । विद्वान वैरागी काइँला भन्छन्, “मुन्धुम सामाजिक र धार्मिक चलन व्यवहारमा समानता तथा सृष्टि, उत्पत्ति, पापाचार, दुराचार, इर्ष्या र आँखीडाहीका आख्यान र श्रुति परम्परामात्रै होइन, यसले किरातहरुको जन्म, विवाह र मृत्युका कर्मकाण्ड वा संस्कार–विधिमा नजीकको समानता राख्दछ ।… युगौंदेखि परम्परागत रुपमा सुन्दै जातीय स्मृति गर्दै आएका मिथक, आख्यान र गाथाहरु केवल कल्पनालोकको कुरामात्र नभएर भएकै सत्यघटनाहरुको श्रृंखलाबद्ध घटनावली हो– मुन्धुम ।”९

यस्तो दस्तावेज ‘मुन्धुम’मा कहीँ कतै ‘दसैं’को उल्लेख नभएकाले पनि दसैंलाई ठोकुवाका साथ ‘किरात चाड’ होइन भन्न सकिन्छ । तर, यो ‘किरात चाड’ नभएता पनि यसलाई मान्ने नेपालीहरुलाई दसैं मान्ने स्वतन्त्रता छ । त्यसमा जातीय समानता र सम्मान अनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनु हुँदैन भन्ने लोकतान्त्रिक सिद्धान्तको अनुसरण भने गर्नुपर्दछ । तर अहिलेको समयमा राज्यपक्षले पनि ‘दसैं’लाई मात्र विशेषाधिकार दिने विभेदकारी नीति परित्याग गर्नुपर्दछ । नेपालमा दसैंजस्तै मनाइने आदिवासी जनजातिका सबै चाडलाई पनि उत्तिकै महत्वका साथ फैलने वातावरण दिनु आवश्यक छ । यसो भएमा मात्र नेपालीहरुको मूलप्रवाहीकरण हुनसक्छ र नेपाल वास्तविक रुपमा सबै जातिको फूलबारी बन्न पुग्छ अन्यथा भूगोलविद डा. हर्क गुरुङले भनेझैँ ‘दुई जाति’मात्रै ‘फूल’ र बाँकी (आदिवासी जनजातिहरु) ‘झारपात’ हुने स्थिति नै रहनेछ र त्यसले नेपालको ‘राष्ट्र’ र ‘राष्ट्रियता’ नै कमजोर बन्न पुग्नेछन् ।

 

सन्दर्भसूची

१. सूचना विभाग, ‘मेचीदेखि महाकालीसम्म’, पृ. ६७९ मा उद्धृत राहुल सांकृत्यायनको विचार ।

२. कविताराम श्रेष्ठ, ‘दसैं किरातहरुकै चाड हो’, कान्तिपुर, २०५९ ।

३. सि.एम. देवान, ‘याखा कविलाका किरात लाम्बिछोङ खलकको वंशावली’, मुगा–धनकुटा, २०५६ ।

४. जनकलाल शर्मा, ‘हाम्रो समाज एक अध्ययन’, साझा प्रकाशन, काठमाडौं, २०३९ ।

५. दुर्गाहाङ याक्खा राई, ‘ब्राम्हणवादविरुद्ध जनजाति+उत्पीडित वर्ग’, २०५३ ।

६. दुर्गाहाङ याक्खा राई ‘ब्राम्हणवाद विरुद्ध जनजाति+उत्पीडित वर्ग’, २०५३ ।

७. क्रान्ति सुब्बा+शुभचन्द्र राई, ‘यलम्बर’, असोज २०४८, धरान ।

८. सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु, भूपेन्द्रनाथ शर्मा ढुंगेल, ‘संक्षिप्त नेपाल इतिहास’, २०४७ ।

९. वैरागी काइँला, ‘मुन्धुम’, निर्माण (संस्कृति विशेषाङ्क) , सिक्किम ।

तस्बिर : दसैंमा हिन्दु धर्मअनुसार मालश्री गाउँदै लिम्बुहरु : लायोनेल काप्लान

Posted by on Nov 1 2015. Filed under Breaking News. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

5 Comments for “किरात र आदिवासीहरुमाथि यसरी लादिएको थियो दसैं”

  1. Like free viagra sample for women , Buy cialis usa .

  2. The price per pill for original free viagra sample is the same as the generic.

  3. IuhN54 Say, you got a nice article. Really Cool.

  4. O4pAxY Really informative article. Much obliged.

  5. Im thankful for the blog post.Thanks Again. Fantastic.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com