प्याकेजमै सहमति गरौं : उपेन्द्र यादव

  • मिडियाले गलत सूचना दिए : वरिष्ठ नेता राई

Upendra Yadavकाठमाडौं, ५ पुस : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जारी राजनीतिक संकटको समाधान ‘प्याकेज’मै गर्नुपर्ने बताएका छन् ।
सोमबार पार्टीनिकट संघीय प्रेस फोरमसँगको भेटघाटका क्रममा अध्यक्ष यादवले सत्तापक्ष र प्रमुख दल नेपाली कांग्रेससँग प्याकेजमै राजनीतिक सहमति गरी समाधान निकाल्न छलफल गरिरहेको बताएका हुन् ।

मधेसी मोर्चाका एक प्रमुख घटकका अध्यक्ष यादवले संसद बैठक आगामी शुक्रबारसम्म स्थगन गरिएको भए तापनि मधेस समस्याको समाधान सरकारको ‘मुड’मा भर पर्ने बताए । उनले यसबीचमा कांग्रेस सभापति सुशील कोइरालाबाहेक अन्यसँग छलफल नभएको समेत जनाए ।

उनले संसद्बाट संविधान संशोधन विधेयक पारित भए तापनि अमूर्त रहेको आरोप लगाए । ‘संशोधन विधेयक अमूर्त छ,’ उनले प्रेस फोरमका टोलीलाई जानकारी गराउँदै प्रतिप्रश्न गरे, ‘कसका लागि ल्याइएको हो ? कसले फाईदा पाउने हो ? यसमा स्पष्ट छैन ।’

अध्यक्ष यादवले संविधान परिमार्जन गरेर काम लाग्नयोग्य भए त्यसलाई मान्न सकिने संकेतसमेत दिए । ‘समावेशिता अधिकारबाट वञ्चित र सीमान्तकृतको लागि हो,’ उनले भने, ‘ठोस रुपमा सीमान्तकृत, उत्पीडित समुदायको अधिकार सुनिश्चित हुन्छ भने मान्न सकिन्छ ।’

यद्यपि, उनले सीमांकनको विषयलाई तीन महिनापछि धकेलेर जान नसकिने बताए । सरकार र प्रमुख दलहरुलाई विश्वास गर्ने आधार नभएकाले पनि सबै विषयमा प्याकेजमै सहमति गर्नुपर्ने जोड उनले दिए ।

उनले संविधान केही व्यक्तिको महत्वकांक्षा र अहंका आधारमा जारी भएकाले सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, शिल्पी (दलित) समुदायलगायतको पूर्णअधिकार सुनिश्चित हुन नसकेको जिकिरसमेत गरेका छन् ।

ashok-rai-feature-890x395_c
यसैगरी, प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्यालको नेतृत्वमा पुगेको टोलीलाई वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले अधिकारको जारी आन्दोलनबारे केही मिडियाले गलत सूचना दिइरहेकोमा चिन्ता व्यक्त गरे । ‘केही मिडिया आन्दोलनविरुद्ध लागेर बेइज्जत गर्न उद्दत छन्,’ उनले भने, ‘यस्ता कुराले सहमतिको राजनीतिलाई दुषित बनाइरहेको छ ।’

मन्दिरमा कुकुर छिर्याउनु साँस्कृतिक अतिक्रमण

यसैबीच, अध्यक्ष यादवले जानकी मन्दिरमा विधवा राष्ट्रपति प्रवेश गर्नाले अशुद्ध भएको भनाईलाई खण्डन गरेका छन् । उनले मन्दिरमा विधवा राष्ट्रपति विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि मन्दिरभित्र कुकुर छिराएर जथाभावी सुगाएको र र्याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किनु स्वभाविक भएको बताएका हुन् ।

साथै, उनले छालाको बुटसहित सेना र प्रहरी कुकुरसहित छिर्नुलाई साँस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन् । ‘कुनैपनि मठमन्दिरमा जुत्तालगाएर कुकुर प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘तर, बुटसहित सेनाले कुकुरलाई मन्दिरभित्र लगेको छ । यसैले गर्दा गंगाजल छर्किइएको हो ।’

उनले कुनैपनि विधवा महिलालाई पूजापाठ गर्नबाट मन्दिरमा आजसम्म वञ्चित गरिएको उदाहरण नभएकाले विधुवा भएकै कारण गंगाजल छर्किएको विषयलाई उछाल्नु वाईयात भएको टिप्पणीसमेत गरे । ‘विधुवा भएकैले गंगाजल छर्किएको भन्नु वाईयात कुरा हो,’ उनले भने, ‘मन्दिरमा पूजा गर्न विधुवालाई पनि कसैले रोक्न मिल्दैन ।’

Posted by on Dec 21 2015. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com