मधेसीमाथि राज्यको क्रुर ज्यादतीको पराकाष्ठा

यसरी बेथरीमा मारिए निर्दोष मधेशीहरु

P1

रामविकास चौधरी ।
काठमाडौं, १४ पुस: त्यो साँझ गाउँमा विरलै चुल्हो जलेको थियो । त्यो पनि बालकका लागि भोक मेटाउन मात्र । आवेग र उन्मादमा रहेका प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट पुरै बजार रगतका टाटाहरुले पोतिएको थियो । मृत्युको मातम, थप अनिष्टको भय र दुःखद आगतको सन्त्रासबाट गाउँमा बेचैनी छाएको थियो । गाउँभरि मधेशीप्रति लक्षित प्रहरीका अपशब्दसँगै पीडितहरुको चित्कार र क्रन्दन मात्र सुनिन्थ्यो ।
सडकभन्दा निकै तल नदी छेउमा रहेको तरकारी बजारमा दर्जनौं ढालिएका थिए । प्रहरीले चलाएको गोली लागेर चारवर्षे बालक र दश वर्षीया बालिकासहित चारले घटनास्थलमै छटपटिएर सदाका लागि संसारबाट विदा लिइसकेका थिए । दर्जनौं जीवनमरणको दोँसाधमा पुगेको बेला पनि उनीहरुलाई उपचारका लागि सदरमुकाम भैरहवा पुर्याउने जोरजाम गरिएन ।

दायाँ आँखा नजिक गोली लागेर ढलेकी सोहबाती मुरावको चित्कार असह्य थियो । उनी घटनास्थलमा तरकारी बेच्न आएकी थिइन । उपचारका लागि सदरमुकाम लैजान आइरहेको एम्बुलेन्सलाई समेत प्रहरीले छेकिरहेको थियो । घाइतेलाई प्रहरीको आँखा छल्दै काँधमा बोकी नदी तरेर पैदल अस्पताल पुर्याउनु परेको व्यथा सुनाउँछन् उनका श्रीमान, प्रभु मुराव । उनी गहभरि आँसु झार्दै भन्छन्,‘ तर पनि निर्दोष श्रीमतीलाई कालकवलित हुनबाट जोगाउन सकिनँ । सोहबातीको असोज २९ गते उपचारको क्रममा निधन भयो । प्रहरीको छेकबारले सात किलोमीटरको दूरीमा रहेको मेडिकल कलेजसम्म घाइतेलाई पुर्याउन पाँच घण्टा लागेको थियो । तत्काल अस्पताल पुर्याउन पाएको भए उनलाई जोगाउन सकिने प्रभु मुरावको भनाइ छ ।

…मृत्युको मातम, थप अनिष्टको भय र दुःखद आगतको सन्त्रासबाट गाउँमा बेचैनी छाएको थियो । गाउँभरि मधेशीप्रति लक्षित प्रहरीका अपशब्दसँगै पीडितहरुको चित्कार र क्रन्दन मात्र सुनिन्थ्यो ।…

चार वर्षीय चन्दन पटेललाई उनका परिवारले त्यसैगरी मेडिकल कलेज पुर्याउँदासम्म उनको प्राण गइसकेको थियो । बजारमा गोली चलेको आवाज सुनेर भित्रबाट आफ्नो पसलको सटर बन्दगरिरहेकी ५२ वर्षीय नन्दिनी पाण्डेको हालत पनि उस्तै रह्यो । पाण्डेलाई प्रहरीले ताकेर गोली हानेको बताउँछिन् उनकी १५ वर्षीय छोरी, अंशु पाण्डे । उनी भन्छिन्, ‘प्रहरीले बाटो जाम गरी तत्काल एम्बुलेन्स समेत आउन दिएनन् ।’ निकै बेरपछि हारगुहार गरी एउटा नीजि भ्यानमा राखी मेरी आमालाई उपचारका लागि भैरहवा पुर्याइयो । उपचारकै क्रममा असोज २ गते उनको निधन भयो ।

बेथरीको त्यो तरकारी बजार तिनाउ नदीको पुलबाट करिब बीस फीट तल छ । हटियालाई लक्षित गरी माथि पुलबाट प्रहरीले अचानक गोली बर्साउँदा चारवर्षे बालक चन्दन पटेल, दश वर्षीया बालिका रन्जनासिंह क्षेत्री, ४८ वर्षीया विन्दुला कौल र ३६ वर्षीय राजकुमार बरईको घटनास्थलमै मृत्युभएको थियो । तिनको शवलाई पनि प्रहरीले खोसेर चार दिनसम्म बेपत्ता बनाएको बताउँछन् मृतक राजकुमार बरईका बुवा, चन्द्रभान बरई । उनी भन्छन्, ‘तरकारी किन्न गएका छोरालाई प्रहरीले अब कहिलै नफर्कने बनाइदियो । प्रहरीले हामीलाई पेस्तोल तेर्साएर उनको मृत शवलाई
समेत जबर्जस्ती खोसेर चार दिनसम्म बेपत्ता बनायो ।’

P2

रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्डमा रहेको बेथरी गाउँ, पिछडिएको मानिएका मर्चवारका अन्य गाउँभन्दा केही विकसितमा गनिन्छ । सदरमुकाम भैरहवाबाट करिब ३ किलोमीटर पश्चिममा रहेको बेथरी गाउँमै ईलाका प्रहरी कार्यालय पनि छ । नजिकै औद्योगिक करिडोर छ । जहाँ सिमेन्टलगायत अन्य दर्जनौं उद्योग छन् । विकसित गाउँको झल्को दिने औद्योगिक करिडोरकै कारण निर्दोष गाउँबासीलाई आफ्नो शान्तिसुरक्षाका लागि खटिने भनिएका सुरक्षाकर्मीका गोली प्रहारबाट साखासन्तान गुमाउनुपर्यो ।

मधेश आन्दोलनका कारण ठप्प रहेको भैरहवा–लुम्बिनी सडक ती उद्योगका लागि चाहिने कच्चा पदार्थ र उत्पादित सामान ओसार्ने एक मात्र सडक हो । बन्द खुल्ने छाँटकाँट नभएपछि उद्योगीहरुले प्रहरी प्रशासनलाई प्रभावित गर्दै मालवाहक ट्रकहरुलाई स्कटिङ्ग गराई सुरक्षित स्थानमा पुर्याउन लगाए । यसरी ट्रकको आवागमन गराएवापत तीनहजार रुपैयाँ प्रति ट्रक पाउने लोभमा प्रहरीले पनि स्कर्टिङ्ग गरी बाधित सडकलाई खुलाएका थिए ।
स्थानीयश्री ओम सहानी भन्छन्,  ‘सडकभरि प्रहरी खटाएर ती उद्योगका मालवाहक ट्रकहरु गन्तव्यतर्फ लाग्दै गर्दा करिब तीनसय मीटरको दूरीमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झड्प भएको हो । तर त्यतिञ्जेल धेरैजसो ट्रकहरु पार गरिसकेका थिए । दुई/चार वटा ट्रक मात्र बाँकी रहँदा भाद्र २९ गते बेथरीमा प्रहरीले स्थानीयबासीमाथि त्रूर दमन गरेका हुन् ।’ भाद्र ३ गते भैरहवाको मृत्यु ताण्डव पनि तिनै उद्योगीका आर्थिक प्रलोभनमा परेका प्रहरीहरुबाट भएको उनी बताउँछन् ।
आन्दोलनकारी नेता सन्तोष पाण्डेका अनुसार भाद्र २५ गते प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की र आन्दोलनकारीहरुबीच आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउने तथा प्रहरीले कुनै पनि मालवाहक ट्रकलाई बल प्रयोग गरी आवागमन नगराउने भन्ने विषयमा ईप्रका बेथरीमै लिखित समझौता भएको थियो । तर प्रहरीले सम्झौताविपरित ट्रकहरुलाई स्कर्टिङ्ग गर्दै आवागमन सुचारु गर्न लाग्दा प्रदर्शनकारीहरुसँग सामान्य भनाभन भएकै कारण प्रहरीको अर्को जत्थाले अन्धाधुन्ध गोली प्रहार गरी बेथरी घटना गराएको हो । रुपन्देहीमा मधेश आन्दोलनलाई निस्तेज पार्न र मधेशीको आवाजलाई सधैँभरिका लागि बोधो बनाउन नियोजित ढंगले सो बर्बरतापूर्ण घटना गराइएको आन्दोलनकारीहरुको दाबी छ ।

…घटनास्थलमा तयार गरिएको एक श्रव्यदृष्यमा अनुहार चिन्न नसकिने एक प्रहरी अधिकृतजस्तो देखिनेले ‘ठोक ठोक टाउकोमा ठोक’ भन्दै गोली प्रहार गर्न निर्देशन दिइरहेका छन् ।…

घटनास्थलमा तयार गरिएको एक श्रव्यदृष्यमा अनुहार चिन्न नसकिने एक प्रहरी अधिकृतजस्तो देखिनेले ‘ठोक ठोक टाउकोमा ठोक’ भन्दै गोली प्रहार गर्न निर्देशन दिइरहेका छन् । उनको कमाण्डका प्रहरी सडकबाटै अन्धाधुन्ध गोली बर्साउँदै छन् । प्रहरीको गोली लागी हाटीबनगाइ-१ की सोरसती मुराव, मैनहिया कुटवा बस्ने २१ वर्षीय दिपेन्द्र सहानी, मैनहिया ५ का करिब ६० वर्षिय पूर्णवासीधोबी, गोनहा-६ बेथरीकी गंगोत्री सहानी, गोनहा-६ का रामलील बेल्दास, रामू लोनिया, गायत्री मुरावलगायत अन्य ४० जना घाइते भएको मधेश मानवअधिकार गृह (माहुरी होम)ले जनाएको छ । घटना उद्योगी र प्रहरीको मिलोमतोमा गराइएको माहुरी होमको भनाइ छ । घटनास्थलमा अधिकारकर्मीहरु नपुगेको गुनासो पीडितहरुको छ ।
उद्योगी शशि न्यौपाने बन्दका कारण व्यापार प्रभावित बनेपछि आफूहरुले उद्योग वाणिज्य संघ भैरहवामार्फत् प्रहरीलाई गुहारेर गाडी स्कर्टिङ्ग गराएको बताए । तर बेथरी घटनामा व्यक्तिगत तवरले कुनै पनि उद्योगी व्यापारीको संलग्नता नरहेको उनले दाबी गरे ।
आन्दोलनकारीले तरकारी बजारबाटै ईटा ढुङ्गा बर्साउदै प्रहरी भ्यानमाथि पेट्रोल बम प्रहार गर्दा प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालिन प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्र ढकालको दाबी छ । उद्योगीको आग्रह र आमउपभोकताको मागबमोजिम प्रहरीले ट्रकहरु स्कर्टिङ्ग गराइएको उनी बताउँछन् ।

(From, http://www.sancharak.com)

 

Posted by on Dec 29 2015. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com