कुन राष्ट्रिय टोपी कुन अराष्ट्रिय टोपी ? : लेनिन गुरुङ

Lenin Gurung

काठमाडौं । काठमाडौं  माइनस डिग्रीको चिसोमा अंग्रेजी वर्षसँगै उखरमाउलो राष्ट्रियताको हुटहुटीले सामाजिक संजाल फेसबूक र ट्वीटरका भित्ताहरुमा ‘टोपी दिवस’ भनेर फोटो खिच्दै राख्नेहरुको जमात धेरै नै देखियो । कसैले साँच्चिकै राष्ट्रियता सम्झेर टोपी लगाए, कसैले बाध्यताले टोपी लगाए, कसैले लहडमा टोपी लगाए, कसैले फेसबूक र ट्वीटरमा हाल्नको लागि फोटो खिचाउन दुई चार सेकेन्ड कसैको टोपी मागेर लगाए ।

जसले हिजो देखि नै चिटिक्क ढाका टोपी पहिरिदै आएका छन् उनीहरुमा विषेश सम्मान छ । तर फेसबूके र ट्वीटेहरुले ‘टोपी दिवस’मा वास्तविकता भन्दा पनि नखरा अरु बढी देखियो । कसैको टोपी दुईचार सेकेन्ड मागेर लगाएर खल्तीबाट मोबाइल झिकेर फेसबूक-ट्वीटरमा हाल्दैमा खुशी हुनुपर्ने हाम्रो कस्तो राष्ट्रियता ? काठमाण्डौंमा ‘टोपी दिवस’ भनेर मनाइरहँदा तराईमा पनि सोही समयमा ‘धोती दिवस’ भनेर सडकमा निस्केको देखियो । भने पछि टोपी दिवस मनाउदै गर्दा धोतीको सम्मान गर्ने कि नगर्ने ? फेसबूक-ट्वीटरमा ‘टोपी दिवस’को प्रतिक्रिया हेर्दै जाँदा यस्तो पनि देखियो: ‘Those Peoples Have Destroyed NEPAL Who Wears TOPI’. एकजना गन्यमान्यकै स्टाटसमा यो पनि देखियो, ठिकै छ शिरमा लाउने ‘टोपी दिवस’ मनाउला तर लाज ढाक्ने ‘धोती दिवस’ मनाउने कि नमनाउने ? एउटा मात्रै कविलाई राष्ट्रियकवि भनेर अरुलाई चै अराष्ट्रिय कवि भन्न मिल्छ कि मिल्दैन ? त्यसो भए राष्ट्रिय गायक, राष्ट्रिय गीतकार, राष्ट्रिय संगीतकार को-को हुन् ? डाँफे चै राष्ट्रिय चरा नेपालको रुख-बुट्यानमा उड्न-बस्न पाइन्छ अरु चराहरु उडेर जा भन्न मिल्छ कि मिल्दैन ? ढाका टोपी मात्रै राष्ट्रिय टोपी भन्न मिल्छ भने तामाङले लगाउने डम्फू जस्तो टोपी, डोल्पालीले लगाउने चै अराष्ट्रिय टोपी ?

”…इरान-अफगानिस्तान, इजिप्ट-टर्की, हालको बंगलादेश देश अर्थात पहिलेको भारत हुँदै सेनवंशीहरुले नेपालको पाल्पामा भित्र्याएको इतिहास भेटिन्छ । सेनवंशीहरुले पहिले पाल्पा र पछि पाल्पाली नेवारहरुले काठमाण्डौंमा जुद्द शमशेरको पालामा मात्रै भित्र्याएको पाइन्छ ।भने पछि ढाका-टोपी हाम्रो आफ्नै मौलिक रहेछ त ?…”

टोपी कै सम्बन्धमा, अफगानिस्तानका भुपु राष्ट्रपति हमिद कारजाईले ठ्याक्कै भादगाउँले टोपी लगाएर अझै हिड्छ, इन्डोनेसियाको राष्ट्रपतिले पनि कालो हामीले भादगाउँले भन्ने गरेको टोपी लगाएर हिड्छ । तर उनीहरुले हाम्रो भादगाउँले टोपी लगायो भनेर मख्ख पर्नु भयो भने भुल हुनेछ ! किन भने हामीले भन्ने-गरेको टोपीको मुस्लिम समुदायबाटै आएको हो । इरान-अफगानिस्तान, इजिप्ट-टर्की, हालको बंगलादेश देश अर्थात पहिलेको भारत हुँदै सेनवंशीहरुले नेपालको पाल्पामा भित्र्याएको इतिहास भेटिन्छ । सेनवंशीहरुले पहिले पाल्पा र पछि पाल्पाली नेवारहरुले काठमाण्डौंमा जुद्द शमशेरको पालामा मात्रै भित्र्याएको पाइन्छ ।भने पछि ढाका-टोपी हाम्रो आफ्नै मौलिक रहेछ त ?

अझ अर्को कुरा, ‘टोपी दिवस’ मनाउने नै हो भने हिमालमा बस्ने हिमालीले लगाउने घ्वाप्प शिर-कान ढाक्ने जुन हामीले खिल्ली उडाएर बाँदरे टोपीको संज्ञा दिन्छौं, उनीहरुको त्यो टोपी राष्ट्रिय टोपी हुने कि नहुने ? तराईमा बस्नेले टाउकोमा बेर्ने फेटा राष्ट्रिय हुने कि नहुने ? तामाङले लगाउने साँस्कृतिक झल्किने डम्फू आकारको टोपी राष्ट्रिय हुने कि नहुने ? डोल्पालीले लगाउने भेडाको छालाको टोपी राष्ट्रिय हुने कि नहुने ?

खासगरी हाम्रो राजनीतिले हिमाल, पहाड र तराई बिचमा ठूलो खाडल बनाई दिएको छ सायद त्यो पुर्न सदियौं लाग्नेछ । पहाडी र मधेसी बिचमा खाडल छ, बाहुन र जनजाति बिचमा खाडल बनाइ दिएको छ । पहाडी र मधेसीले लगाउने लुगा, खाने अन्नपानी, बोल्ने भाषा देखि संस्कार र संस्कृति बिचमा पनि खाडल बनाई दिएको छ ! त्यहिको उपज हो आज काठमाण्डौंले टोपी दिवस मनाउदा मधेसीले धोती दिवस मनाएको ! किन कि सबैलाई आफ्नो अधिकार खोसिन्छ कि भन्ने त्रास निर्माण गरिदिएको छ देशको शासन सत्ता सम्हाल्ने हरुले । एउटा राष्ट्रिय घोषणा गर्दा अर्को अराष्ट्रिय बन्ने पो हो कि भन्ने चिन्ता छ सबैमा । तसर्थ नेपाल साँच्चै हिमाल पहाड र तराई हो भने टोपी दिवसको औचित्य पुष्टि गर्न अलि गाह्रो नै हुन्छ सायद ।

Posted by on Jan 2 2016. Filed under Breaking News, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “कुन राष्ट्रिय टोपी कुन अराष्ट्रिय टोपी ? : लेनिन गुरुङ”

  1. एउटा राष्ट्रिय घोषणा गर्दा अर्को अराष्ट्रिय बन्ने पो हो कि भन्ने चिन्ता छ सबैमा ।-Writter.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com