पृथ्वीनारायणले नेपाल बनाएका होइनन्, नेपाल खोसेर बर्बाद बनाएका हुन्

ज्वजलपा सकसित,

संघियता आवश्यक छ वा छैन भन्ने बहसको विविध पक्षहरुमध्य देशको बिखण्डिकरणको सवाल एक प्रमूख पक्ष हो । विशेषत: संघीयता बिरोधीहरु पृथ्वीनारायणले नेपाल नबनाएको भए आज हामीले नेपाली भन्न समेत नपाइने उडन्ते कल्पना तेर्साउँछन । त्यस्तो हाइपोथेटिकल तर्कको कुनै वजन हुँदैन, तैपनि त्यो तर्क दिनेहरुको मनस्थीतिमा पृथ्वी नारायणले नै नेपाल बनाएको भन्ने पञ्चायति शिक्षा र बाहुनबादी मान्यताले जबरजस्त घर गरेर बसेको छ भन्ने प्रष्ट बुझिन्छ । तर नेपाल पृथ्वी नारायणले बनाएको नै होइन । बनीबनाउ नेपालको उत्कर्षकालमा पृथ्वी नारायण नेपालमा एक शिसु विद्यार्थीको रुपमा पसे, एक हमलाकारी राजाको रुपमा छिरे, एक आतंकबादी नेताको रुपमा कज्याए, एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । तपाइलाइ लाग्दो हो, यो आधारहीन आरोप हो, म यहाँ तल यी बिचारहरु कुन कुन तथ्यमा टेकेर गरीएको विश्लेषण हो, खुलस्त पार्ने छु ।

पृथ्वी नारायणले शिशु अवस्थामा नै नेपाल-खाल्डोमा अध्ययन गरे । यदि उनको शिक्षादिक्षा नेपालमा भन्दा गोर्खामा राम्रो हुँदो हो त उनलाइ नेपालमा पठाइने नै थिएन । यसरी विद्यार्थीको रुपमा प्रवेश गरेका पृथ्वी नारायण नै कालान्तरमा नाकाबन्दी लगाउने र हमलाकारी बन्ने आततायी काम गर्न अघि सरे । लडाइमा पराजय स्वीकार गरेका जनताको नाककान काटेर उनले अमानवीय आतंकबादीको परिचय पनि दिए । उनको शासन बिरुद्ध आवाज उठाउनेला गोर्खेलौरी कस्ने देखि लिएर सार्वजनिक रुपमा फाँसि दिने सम्म कार्य गरेर आतंकको बलमा दरवार र जनता कज्याएर बसे । यस्तो जघन्य अपराध गरेको मान्छेको कर्तूतलाइ ढाकछोप गरी उनलाइ नेपाल एकिकरण गरेको ब्यक्तिको रुपमा अझै पनि हेर्ने वा दावि गर्ने मुठ्टीभरका मानिसहरु छन, जो सुस्त मनस्थीतिका बिमार झै बेला बेला पृथ्वी नारायणले नेपाल निर्माण गरेका हुन भन्न अघि सर्छन् ।

वास्तवमा नेपालको निर्माण पृथ्वी नारायणले गरेको हैन । महाभारतको पुराण साक्षी छ, वृन्दावनमा कृष्ण, हस्तिनापुरमा कौरव पाण्डवहरुको माथपच्ची चलेको द्वापर यूग मा नै नेपाल  महायुद्धमा सामेल हुन सक्ने हैसियतका साथ निर्माण भइसकेको देश थियो । तत्पश्चातको कुरा गर्ने हो भने भारतीय उपमाहद्वीपमा अलेक्जेण्डरको हमलाकारी सेना प्रवेश हुँदै गरेको अवस्थामा नेपाल सामरीक र आर्थिक रुपमा एक शक्तिशाली देशको अस्तित्त्व कायम राखी तात्कालीन अन्तरदेशीय सरोकारहरुमा सहभागिता जनाउने हैसियतमा रहेको थियो । देशको सिमाना समयक्रममा फैलिने र खुम्चिने हुन्छ नै । सम्राट अशोकको पालामा पूर्वमा ईण्डोनेशिया देखि पश्चिममा इरान सम्म फैलिएको भारत देश बेलायतिहरुको कव्जामा परेको बखत साना-साना टुक्रामा छिन्नभिन्न थिए । ती टुक्रालाइ एक एक गर्दै उपनिवेश बनाएको बेलायतले पछि छोडेर जाँदा पाकिस्तान र हिन्दुस्तान गरी २ देश मात्रै छोडे । त्यसो भए के पाकिस्तान र हिन्दुस्तानको निर्माता बेलायत हुन सक्छ? कि बेलायतको माहारानीलाइ भारतको निर्माता, पाकिस्तानको निर्माता भनेर उपमा दिन मिल्छ? कदापि मिल्दैन, किन कि तिनले आएर भारत बनाइदिएको हैन, तिनले आएर भारत हडपेको हो र पछि छोडेर गएको हो । ठीक त्यसै गरी पृथ्वीनारायण र तिनका सेनामेनाले आएर नेपाल हडपेको हो, बनाएको होइन ।

पृथ्वीनारायणले सानो सानो देश जोडेर ठूलो दह्रो देश नबनाएको भए नेपालको अस्तित्त्व बाँकि रहने थिएन होला, सानो सानो टुक्रामा विभाजित बाइसे,चौविसे, मल्ल, सेन राजाहरु कमजोर हुनाले बेलायतको अधिन परिसकेको हुनेथियो होला भन्ने तर्क गर्नेहरु पनि धेरै छन् । यी तर्कहरु पनि हाइपोथेटिकल हुन् । वास्तवमा बाइसे, चौविसे, मल्ल तथा सेन राज्यहरु संघिय राज्यहरु थिए । स्थानिय क्षेत्रमा स्थानीय शासनको अभ्यास गरीरहेका थिए । तिनीहरुमाझ एउटा दह्रिलो केन्द्रीय समन्वय एकाइ नहुँदा ती संघीय एकाइहरु छुट्टाछुट्टै राज्य जस्ता देखिएका हुन । मल्ल राजाहरुकै उदाहरण लिउँ । पाटनमा राजा बनाउन लायक मल्ल यूवराज नहुँदा तिनले भक्तपुर वा काठमाँडौबाट मल्ल यूवराजलाइ बोलाएर राजा बनाउथे । छुट्टै देश भएको भए यस्तो संभव हुन्थ्यो होला? भारतमा राष्ट्रपतिको चुनाव अनिर्णित भयो भने पाकिस्तानबाट मान्छे बोलाएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिन्छ? कदापि सकिन्न, किन कि यी दुइ छुट्टा छुट्टै देश हुन् । तर भारत भित्र नै उत्तरप्रदेशको मानिस राष्ट्रपति हुन अयोग्य भए बिहार वा मध्यप्रदेशको मानिसलाइ राष्ट्रपति बनाउन नसकिने कुरै छैन । यो दृष्टिकोणबाट हेर्दा काठमाडौ, पाटन, भक्तपुर छुट्टाछुट्टै राज्य भएतापनि छुट्टाछुट्टै देश थिएनन्, एकै देशका संघीय एकाइहरु थिए भनी बुझ्नु पर्ने हुन्छ । यस्तै गरी बाइसे वा चौविसे क्षेत्र पनि संघीय राज्यहरु नै थिए, सानो सानो देशहरु थिएनन् ।

पृथ्वीनारायणले नेपाल बनाइदिएर हामी नेपाली भन्दै गर्व गर्न पाएको भन्ने तर्क गर्नेहरु पनि छन् । तर यो पनि बेठीक तर्क हो । पृथ्वीनारायणले नेपाल हडपेपछि नेपालीहरु गर्व गर्न नसक्ने हुत्तिहारामा परिणत भएको उदाहरन छ । मल्लकालमा नेपालमा राजनीतिक सिमाना नेपालमण्डलकै वरीपरी सिमित भएता पनि नेपाल दह्रिलो अर्थतन्त्र थियो, शक्तिशाली थियो । वरपरका छिमेक देशले आदर र इज्जत गर्ने देश थियो । तर पृथ्वीनारायणको कब्जामा परेपछि नेपाल कमजोर बन्यो, पिछौडा बन्यो, गरीब बन्यो, भाडाको सिपाहि पठाउने देश बन्यो,  मागिखाने मगन्ते बन्यो । अहिले संसारभरी भरीया कामदार निर्यात गरेर गुजारा गर्ने हुत्तिहारा बन्यो । थुक्क, यत्तिको गिर्दा पनि आँखा खोल्दैन ?

अहिले अमेरीका संसारमा नं १ शक्तिशाली भइ बसेको छ, किन संसारले अमेरीकालाइ नं १ मा राखेको हो? त्यसको मानक के हो? हातहतियार वा आणविक क्षमताका कारण शक्तिशाली भनेको भए रुसको आणविक भण्डार अमेरिका भन्दा बढी छ । जनसंख्या चीन र भारतमा बढी छ । क्षेत्रफल रुस र क्यानडामा बढी छ । कुन मानकले अमेरिका शक्तिशाली नं १ बनेको हो त? त्यो मानक भनेको मुद्रा हो । अमेरीकि डलर आज संसारको साझा मुद्रा जस्तै छ, सबैतिर त्यसको मान्यता छ । संपूर्ण यूरोप मिलेर साझा मुद्रा यूरो बनाउँदा पनि अमेरिकी डलर नै स्थायी विश्वास जितेर संसारको अर्थप्रणालीको मेरुदण्ड बनेर बसेको छ । अमेरीकि डलरको स्थान जुन दिन खस्किन्छ अमेरिकाको शक्ति त्यहि दिनबाट ओरालो लाग्न थाल्नेछ । डलरले राज चलाउने बेलासम्म अमेरीका ऋणमा चुर्लुम्मै डुबे पनि अमेरीकाको ५० टुक्रामा बिभाजित भए पनि वा अमेरीकाको सिमाना नेपाल भन्दा सानो क्षेत्रमा खुम्चेपनि अमेरीका प्रभावशाली राष्ट्र नै दरीने छ । प्रभावशाली राष्ट्र नभएको अवस्थामा तिनको मुद्रालाइ कुनै बिदेशीले भाउ दिदैन, माया गरेर बचाएर राख्दैन, इज्जत दिदैन, सम्मान दिदैन । जस्तै, सोभियत संघ पतनको बेला रुबलको पतन कसरी भयो? अर्जेन्टिनाको पेसो ध्वस्त हुँदा अर्जेन्टिनाको के हालत भयो? जापान शक्तिशाली हुँदै आएपछि येनको स्थीति कुन हालतमा छ? चीनको शक्ति बढ्दै जाँदा युआनमाथि कस्तो दबाव रहेको छ? कद्दाफिको पतन अघि र पछि लिबियाको मुद्राको के हालत भयो?

मुद्राको शक्ति कति ब्यापक छ भन्ने कुरा नेपालीलाइ थाहा नै छैन, किन कि नेपाली जनतालाइ यो बारेमा केहि पनि पढाइएको नै छैन । इतिहास साक्षि छ तिब्बत र मुगल शासित भारतमा नेपालको मुद्रा चल्थ्यो । तिब्बत हालको नेपाल भन्दा ५ गुणा ठुलो, र मल्लहरुले राज्य गरेको नेपालमण्डल भन्दा झण्डै ५० गुणा ठुलो देश हो भने मुगल शासित भारतीय राज्य पनि तात्कालिन नेपाल भन्दा ३०-४० गुणा ठुलो राज्य हो । अब भन्नुस यति सानो नेपाल राज्यको मुद्रा त्यत्रो ठूलो ठूलो देशहरुमा चल्ने, तर ती देशहरुको मु्द्रा अन्त नचल्ने, यस्तो कसरी संभव भएको थियो होला? तिब्बतको मुद्रा समेत नेपालमा बन्ने गर्थ्यो त्यो बेलामा । त्यस्तो कसरी संभव भयो होला? स्मरण रहोस, केहि वर्ष अगाडि नेपालको मुद्रा भारतमा छाप्न खोज्दा नेपालमा ठूलो विवाद र बहस भएको थियो, र अन्त्यमा मु्द्रा छाप्न तेस्रो देश (अष्ट्रेलिया) लगियो । अर्थमामिलामा छिमेक देशलाइ हतपत विश्वास गरिदैन । भारत र पाकिस्तान बीच मुद्रा छपाइ र नक्कलि नोटको विषयमा सँधै किचलो छ । तर नेपालले छिमेकि तिब्बतको मुद्रा छाप्थ्यो भने मुगल राज्यमा नेपाली मुद्रामा कारोवार गर्न कुनै रोकटोक थिएन । नेपालमा मुगल मुद्रा प्रयोग भएको देखिन्न । के तिनले नेपालको सिको गरी आफ्नै मुद्रा बनाएर वरपर छिमेकी इलाकामा प्रयोग गर्ने चाहना राखेनन् होला?

के ती मुगल वा तिब्बति बादशाहहरुले दया गरेर नेपालको मुद्रा स्वीकारेको होला? होइन । तिनको दयाले होइन । त्यो बेलाको नेपाली सुझबुझ र विकासका कारण नेपालीले यस्तो अवसर पाएका हुन् ।

कसरी एउटा सानो क्षेत्रमा प्रशासनिक रजाइ चलाइरहेको नेपालले यस्तो ठूलो जिम्मेवारी लिने सौभाग्य पायो होला? एउटा सानो देशको निमित्त यस्तो शक्तिशाली बन्न सम्भव तब मात्रै हुन्छ जब त्यो देश समृद्ध शक्तिशाली, विश्वसनीय, भरोसायोग्य दह्रो अर्थतन्त्र भएको, तथा असिमित श्रृजनात्मक शक्तिका साथ प्रविधि विकासमा नेतृत्त्वदायि स्थीतिमा रहन सक्छ । मल्लकालीन नेपाल देस त्यस्तो वैभवमा बसेर हिन्दकुश हिमाल क्षेत्रमा आर्थिक राज गरेर बसेको देश थियो । यसकारण नेपालको मु्द्रा सर्वस्वीकार्य रह्यो । मुद्राको गुणस्तर कायम राख्नु साह्रै ठूलो जिम्मेवारी हो । जुन नेपालले पुरा गर्न सकेको हुनाले नै यसको प्रयोग उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर हुन गयो ।  मुद्राको प्रयोग हुन जानु भनेको नेपालको गौरव थियो, नेपालीले गर्व गर्न सक्ने विषय थियो । नेपालको शक्तिको विम्व थियो । नेपालको समृद्दिको चिनो थियो ।

तर जब मल्लकालको अवसान भयो, नेपालको मुद्राको अवसान भयो । मुद्रा छपाइ प्रविधि सित सम्बन्धित मानिसहरु सबै बेरोजगार बने । नेपाल भित्र बाहिरको अर्थतन्त्र ठप्प भयो । नेपाल गरीविको चक्करमा पिसिन थाल्यो । नेपालले उत्तर दक्षिण पूर्व पश्चिमबाट पाइरहेको मान र शान गुम्यो । समाज र सभ्यता बिकासको गति ठप्प बन्यो । सम्पूर्ण देश बरबादीको यात्रामा लम्क्यो । प्रविधि, ब्यापार, ब्यवस्थापन र बचनका भरपर्दा हस्तिको रुपमा नाम र दाम कमाएका नेपालीको परिचय लुटेरा, हिंस्रक, आततायी, हमलाकारी, बलत्कारी, क्रूर आदि को रुपमा परिणत भयो । के पृथ्वी नारायणले हामी नेपाली लाइ दिएको यहि होइन त? के देशको इतिहासमा भएको यस्तो अवनतिमा गौरव गर्न सक्ने कुनै कुरा बाँकि छ? नेपाल र नेपालीले हासिल गरीसकेको प्राविधिक, ब्यवस्थापकिय तथा कुटनीतिक ज्ञानको भण्डार नष्ट गरेर नेपाली समाजलाइ ढुँगे यूगमा फर्काउने कामको जग हालेका पृथ्वी नारायणको बुद्धि भष्मासुरको बुद्धि भन्दा कुन अर्थमा फरक छ? त्यसैले मैले माथि लेखेको हो कि पृथ्वी नारायणले एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । जसको प्रतिफल आज नेपाल संसारकै हरिकंगाल देशको परिचय बोकेर बस्न बाध्य छ । संसारभरी भरीया कामदार पठाउने देशको रुपमा चिनिएको छ । ल यो कुरा हैन भन्ने कसैको हिम्मत छ ?

http://esamata.com/ बाट

Published on: Friday, February 03, 2017 शुक्रबार, माघ २१, २०७३

Posted by on Feb 3 2017. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com