गुम्दै छन् माझी बस्ती : पितृ बोलाउने ठाउँ अतिक्रमण

गणेश राई र टीकाप्रसाद भट्ट,


मन्थली गडवारीमा माझीले प्रयोग गर्दै आएका सार्वजनिक थलोमा विद्यालय, हाटघर, सार्वजनिक शौचालय बनेको छ । जसले गर्दा दसैं लगायत चाडवाडमा रमाउने परम्परागत थलो साँघुरिएको छ । चरिचरण मासिएका छन् । त्यतिमात्र होइन, माझीहरूको पितृ बोलाउने ठाउँसमेत अतिक्रमण भएको छ ।


शुक्र माझी (वर्ष ६५) । उनको नाममा ५ रोपनी जग्गा छ । उनको दैनिकी घर खेतीमै बित्छ । पहिले नेपाल वायुसेवामा सामान्य रोजगारी गर्थे । उमेर हदपछि अवकाश पाए । उनका २ छोरा, १ छोरी छन् । सबैको बिहेदान भइसक्यो । दुईमध्ये एकजना समान्य रोजगारी र अर्का खेतीपाती गर्छन् । जग्गाजमिन अंशबन्डा गर्दा प्रतिघरमा ५ मुरीजति धान भित्रिन्छ । यो परिवार माझी गाउँमा सम्पन्न मानिन्छ ।
टोकले माझी (वर्ष ५५) । उनी शुक्र माझीका भाइ हुन् । विगतमा उत्तिकै सम्पन्न थिए । समय परिवेशले अहिले टोकलेसित एकचिम्टी जग्गाजमिन बाँकी छैन । परिवारमा ५ सदस्य छन् । अर्काले दिएको जग्गामा टहरो हालेर बसेका छन्, टोकले र उनकी पत्नी लाटी मझिनी । यी दम्पतीको दैनिकी अर्काको भारी बोकेर चल्दैछ । छोराछोरी मुस्किलले पढाउँदैछन् ।

सन्तु माझी (वर्ष ४५) । उनका पत्नी, तीन छोरी र एक छोरा छन् । जग्गाजमिन करिब ३ रोपनीजति छ । सहर विकास भएपछि जग्गा बेच्दै गए । पुख्र्यौली जग्गा बेच्ने क्रममा छन् । अन्यत्र जोड्नसकेका छैनन् ।

यो यथार्थ हो, मन्थलीका १ सय ६५ घरपरिवार माझी समुदायको । रामेछाप जिल्लाको सदरमुकाम मन्थली तामाकोसी बगर किनारामा फैलिएको उपत्यका, समुद्री सतहदेखि करिब चार सय मिटरमात्र उचाइमा छ । उत्तरबाट दक्षिणतर्फ बगिरहेकी तामाकोसी पूर्वी किनारा विशाल फाँट छ । उत्तर–पूर्वबाट रणजोर खोला मिसिएको छ । पहाडको फेदीमा फैलिएको फाँट आदिवासी माझी जातिको बसोबास थलो, जहाँ पुस्तौं—पुस्ता यहीं बसेका छन् । स्थानीयले यस फाँटलाई पहिले गडुवारी भन्थे । सदरमुकाम मन्थलीमा सरेपछि माझीगाउँमा हाट लाग्ने थलो बनेको छ । फलत: गडुवारीलाई हाटेचौर भन्ने गरिएको छ । फाँट बगरको उत्तरतर्फ केराबारे चौरमा हवाई गिरान (एयरपोर्ट) छ । प्राय: हरेक दिन सानो जहाज आऊ—जाऊ गर्छ । गिरानको तल्लो फाँटबाट कोसीको पानी बिजुलीबाट लिफ्टिङ गरेर रामेछापबासीलाई खानेपानीको जोहो गरिएको छ ।

कोसीको एक तह उचाइ टारमा माझीबस्ती फैलिएको छ । २०४५ सालमा सदरमुकाम मन्थलीमा सारिएपछि तामाकोसी किनार फाँटमा सबैको आँखा परेको हो । पछिल्लो पटक २०७० सालमा मन्थली नगरपालिका घोषणापछि माझी बस्तीको भाउ बढेको छ । एकछत्र माझीगाउँमा बाहिरबाट आएका मानिसहरूको बसोबास ह्वात्तै बढेको छ । यस फाँटमा बर, पीपल र समी रूखका छहारी आसपासमा एउटा विद्यालय, हाटघर टहरा र अलिक माथि कुनातर्फ मूल सडक (पुष्पलाल मार्ग) तन्किएको छ । पुख्र्यौलीदेखि डुंगा खियाएर तथा माछा मारेर जीविका गर्ने एक जाति हुन्– माझी । यी जाति नेपालका यस भूभागमा आदिकालदेखि बसिआएका सबैभन्दा पुराना बासिन्दा हुन् । गहुँगोरा वर्ण औसत केही कालो वर्ण हुनु माझी जातिको मोहडा हो । नदी तटउँधी होचो एक–दुई तले फुसको छानोले छाइएको, ढुंगा र माटोको गारो चिटिएको, दैलोयुक्त तर झ्याल नभई सट्टा खटप्वाल मात्र राखिएका, रातो माटोले लिपिएका र सेतो कमेरोले छिटिएको घर नै अक्सर माझी समुदायको घर हो भनेर चिन्ने—जान्ने गरिन्छ । माथिल्लो तलामा सुत्ने, बस्ने र अन्न राख्ने, भुइँतलामा आधा भाग कुलदेउताको थानले ओगटेको र बाँकी भाग भातभान्सा गर्ने ठाउँ रहन्छ ।

मन्थलीका माझी त्यसैमा पर्छन् । ‘मन्थली’ नामकरण माझी भाषामा भएको हो । ‘मुन्’ भनेको ‘जाँड’ र ‘थली’ भनेको ‘थलो’ अर्थात् ठाउँ हुन्छ । माझीहरूको जाँड खाने थलोका रूपमा अर्थ लगाएको पाइन्छ । उक्त ‘मुन्थली’ अपभ्रंश भई ‘मन्थली’ भएको माझी समुदायका बुढापाकाहरू बताउँछन् । कोसीलाई नाता मान्ने र आफ्नो मुख्य पेसा डुंगा खियाउने, माछा मार्ने हो । २०३३ सालमा तामाकोसीमा पुल बनेपछि मन्थलीमा माझीले डुंगा खियाउने पेसाबाट सधैंका निम्ति छुटकारा पाएका हुन् । अहिले नदी किनारामा न डुंगा, न घरैपिच्छे माछा मार्ने जाल, बल्छी नै । माछा मार्ने काम पनि भन्नुमात्रै छ । माझीहरू अहिले पुस–माघको चिसोसँग डराउँछन् ।

बस्ती सहरीकरण भएसँगै माझी समुदाय परम्परागत पेसा, व्यवसायबाट विमुख त भए नै, युवा पुस्ता आधुनिकतासँग जोडिनसकेका छैनन् । आधुनिकताको नाममा माझीबस्ती बढी भड्किलो र खर्चिलो हुँदै गएको छ । परिणामस्वरूप पुख्र्यौली जग्गाजमिन बेचेर व्यवहार धान्ने स्थितिमा पुगेका छन् । जग्गाको भाउ बढ्दै जानु तर उनीहरूको स्वामित्व घट्दै जानु विडम्बना बनेको छ । ‘हाम्रो समुदायलाई उठाउने नाममा एनजीओहरूले बानी बिगारिदिए, जसले गर्दा परनिर्भर बन्न पुग्यौं जस्तो लाग्छ,’ नेपाल माझी उत्थान संघका अध्यक्ष गोविन्दलाल माझी भन्छन् ।

प्रकृति पूजक माझी
माझी जाति आफूलाई प्रकृति पूजक मान्छन् । उनीहरूका निम्ति नदी नै पितृथलो पनि हो । । पितृकार्य गर्दा नदी वा ठूलो खोला हुनु जरुरी छ । कुनै देवीदेउताका नाममा खास रूखको जरा तथा पहरा (ओडार) मा गएर पूजा गर्छन् । नदीपूजा भनेर कोसी नदीको पूजा गर्छन् । त्यस बाहेकको पूजा वरदेउ स्थानमा हुन्छ । विभिन्न नदीमा माछा मार्ने तथा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने परम्परा नै हो । तसर्थ माझीका लागि जंगल र जमिनभन्दा पनि जल (नदी) सँगको सम्बन्ध अकाट्य छ । नेपाल माझी उत्थान संघले माझी जातिको धर्म ‘तान्त्रिक’ हो भनेर निर्णय गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देसभरिमा माझी जातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्र माझीको जनसंख्या ६ हजार ४२ रहेको छ । जसमा २८७८ पुरुष र ३१६४ महिला छन् । जिल्लागत जातीय तथ्यांकको आधारमा क्षत्री, तामाङ, नेवार, मगर, बाहुन, सुनुवार, कामी, सार्कीपछि नवौं स्थानमा माझी जाति रहेका छन् । उनीहरूको बसोबास मुख्य रूपमा मन्थली र आसपास नै हो । भटौली, चिसापानी, कुनाउरी, हातिटार, रजगाउँ, मसानटार, सेलेघाट, नबुघाट माझीका प्रमुख बस्ती हुन् । छरिएका बस्ती तामाकोसीको र सुनकोसीको किनारमा अरू थुप्रै छन् । शुक्र माझी भन्छन्– ‘मंसिर, पुसमा नदी किनारमा कुहिरो जहाँसम्म लाग्छ, अनि सिमल कहाँसम्म पाइन्छ, त्यहाँसम्म माझीको भूभाग भन्ने गरिन्थ्यो । तर अहिले कोसी किनारमा न कुहिरो लाग्छ, न सिमल देख्न पाइन्छ ।’ जलवायुमा आएको परिवर्तनले माझीसँग अन्तरसम्बन्ध भएका ती दुवै कुरा हराएका छन् ।

किंवदन्ती र इतिहास
धार्मिक कथनअनुसार प्राचीन समयमा एउटा गरिब नि:सन्तान परिवार थियो । त्यो परिवारले भगवानसँग पुत्र प्राप्तिका लागि प्रार्थना गर्‍यो । फलस्वरूप उनीहरूलाई तीन पुत्रलाभ भयो । गरिब परिवार भएकाले उनीहरूसँग भाँडाकुँडा पर्याप्त थिएन । त्यसैले आमाबाबुले खानेकुरा दिँंदा तीन भाइमध्ये जेठोलाई थालमा, माहिलालाई कचौरामा र कान्छालाई दुनामा दिने गर्थे । उनीहरू हुर्कंदै गएपछि थाल पाउन आपसमा झगडा गर्न थाले । झगडा मिलाउन आमाबाबुले तीनै छोरालाई तीन भिन्न दिशातिर पठाइदिए । त्यसपछि थालमा खाने सन्तानलाई थारू, कचौरामा खाने सन्तानलाई माझी र दुनामा खाने सन्तानलाई दनुवार भनिएको ‘माझी जातिको परिचय’ पुस्तकमा उल्लेख छ ।

माझी समुदायको भाषा, धर्म, संस्कृति, संस्कार संरक्षण, सम्बद्र्धन र विकास गर्ने उद्देश्यले नेपाल माझी उत्थान संघ (२०५१) स्थापित छ । यस संघका संस्थापक उपाध्यक्ष धनबहादुर माझीका अनुसार नेपालमा माझी दुई हजार वर्षभन्दा अगाडिदेखि नै सप्तकोसीका सहायक नदीहरूको आसपासमा र मध्य तथा पूर्वी क्षेत्रका भित्री मधेसमा बसोबास गर्दै आएका हुन् । यस जातिको उत्पत्तिदेखि नै नदीसँग विशेष सम्बन्ध रहँदै आएको छ । माझी नदी किनारामै बस्ने र नदीबाट जीवन निर्वाह गर्ने भएकाले प्राचीन कालमा मत्स्य गणचिह्न (टोटेम) भएका कविला एवं नदीजन्य वस्तुबाट जीवन निर्वाह गर्ने समुदाय नै वर्तमान अवस्थामा माझीका पुर्खा थिए भनेर विश्लेषण गरिएको पाइन्छ । कथन अनुसार माझी सुरुदेखि नै सप्तकोसीका सात सहायक नदीहरू इन्द्रावती, सुनकोसी, तामाकोसी, लिखु, दूधकोसी, अरूण र तमोर नदी किनारका तटीय भूमिमा बसोबास गर्दै आएका हुन् । यस बाहेक वागमती आसपास, मकवानपुर र काभ्रे, सिन्धुलीको मरिनखोला र कमलामाई तथा उदयपुरका त्रियुगा नदी आसपासमा पनि माझीको पुरानो बसोबास क्षेत्र हो ।

पितृ बोलाउने ठाउँ अतिक्रमण
मन्थली गडवारीमा माझीले प्रयोग गर्दै आएका सार्वजनिक थलोमा विद्यालय, हाटघर, सार्वजनिक शौचालय बनेको छ । जसले गर्दा दसैं लगायत चाडवाडमा रमाउने परम्परागत थलो साँघुरिएको छ । चरिचरण मासिएका छन् । त्यतिमात्र होइन, माझीहरूको पितृ बोलाउने ठाउँसमेत अतिक्रमण भएको छ । नेपाल सरकारले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आईएलओ)–१६९ अनुसार आदिवासीको पैतृक थलोमा कुनै किसिमको गतिविधि गर्न उनीहरूलाई पूर्वजानकारी गराउनुपर्छ, परामर्श गर्नुपर्छ । सहमति लिनुपर्ने हुन्छ । तर मन्थलीको उक्त थलो अतिक्रमण गर्दा र अतिक्रमण भइरहँदा प्रशासन तथा स्थानीय निकायले उनीहरूसित कुनै परामर्श नगरेको माझी जातिबारे अध्येता युवा समाजशास्त्री झकेन्द्र घर्ती मगर बताउँछन् । ‘माझी जातिको परम्परागतलाई बेवास्ता गरेर उनीहरूको मानवअधिकारको हनन भइरहेको छ,’ मगर भन्छन्, ‘उनीहरूको मानवअधिकारको पक्षमा बोलिदिने कोही छैन ।’

संघका अध्यक्ष गोविन्दलाल माझी सरकारले अल्पसंख्यक माझी जातिलाई बेवास्ता गरेको गुनासो गर्छन् । ‘हाम्रो (माझी) समुदायले लेखपढ गरेका छैनन् भनेर हाम्रो मौलिक पितृथलो समेत बिथोलिँदैछ,’ स्थानीय विकास मन्त्रालय अन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका वर्तमान सदस्य सचिवसमेत रहेका माझीले भने, ‘हामी आफ्नो अधिकारको लागि लड्न नजान्दैमा हाम्रो मौलिक थलोबाट विस्थापित गर्न पाइँदैन ।’

शिक्षा र स्वास्थ्यमा कमजोर
माझी बस्तीमाझमा माध्यमिक विद्यालय छ । तर माध्यमिक तह छिचोल्ने माझीको संख्या आंैलामा गन्न भ्याइने मात्र छन् । श्याम माझीका अनुसार १२ पढेका केही छन् । गडुवारीका सञ्जीव माझी फिलिपिन्समा डाक्टर पढ्दैछन् भने अर्का युवक टीका माझी नेपालगन्जमा इलेक्ट्रिक इन्जियिनर पढ्दैछन् । माझी जाति तन्त्रमन्त्र, भूतप्रेतमा विश्वास गर्छन् । गाउँमा अझै भूतप्रेत मन्छने, झारफुक गर्ने चलन व्याप्त छ । तैपनि उनीहरूको स्वास्थ्यमा पहिलेभन्दा धेरै सुधार आएको तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्य बताउँछन् । सुत्केरी गराउन स्वास्थ्यचौकी लाने चलन बढेको छ । तर घर वरिपरि सरसफाइ राख्नसकेका छैनन् ।

माझी जातिको उत्थानका लागि सरकारी र गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन् । देखिने उपलब्धि भने कमै छ । साहित्यकार जगदीश घिमिरेद्वारा स्थापित तामाकोसी सेवा समितिमार्फत माझीहरूको आय आर्जनका लागि तरकारी खेती गर्ने सीप दिलाइएको थियो । बंगुर र बाख्रा पालनको विधि सिकाइए । माझी टोलमै विद्यालय खोलेर समुदायका बालबालिकालाई पढ्ने अवसर दिनेदेखि वस्तुभाउका लागि डालेघाँस लगाउन सिकाउनेसम्मका काम भए । तर भनेजस्तो आयआर्जन र जनचेतनाको स्तर माथि उठ्नसकेको छैन ।

गैरसरकारी संस्थाले सहयोग गरुन्जेल नियमित हुने, छाडेपछि आफ्नै पारामा चल्ने माझी जातिको कमजोरी भएको तामाकोसी सेवा समितिका निर्देशक गोविन्द घिमिरे बताउँछन् । तामाकोसी सेवा समितिमात्र हैन, गरिबी निवारण कोष, सामुदायिक विकास समाजजस्ता संस्थाले माझी गाउँमा काम गरेका छन् । तर माझीहरूले त्यसलाई आफ्नो हितमा परिणत गर्नसकेका छैनन् । संघका अध्यक्ष गोविन्दलाल माझी सरकारी सेवा प्रवेशका निम्ति विशेष व्यवस्था हुनुपर्ने बताउँछन् । ‘विशेष पहल हुनैपर्छ, नत्र विद्यमान आरक्षण व्यवस्थालाई माझीले कहिल्यै उपभोग गर्न पाउने छैनन्,’ अध्यक्ष माझीले भने, ‘किनभने आरक्षित कोटालाई उन्नत समूहका आदिवासी जनजातिकै निम्तिमात्र हुनेछ ।’

http://kantipur.ekantipur.com/ बाट

पुनप्रकाशित, २९ फागुन २०७३ ।

Posted by on Mar 12 2017. Filed under Breaking News, पत्रपत्रिकाबाट, समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “गुम्दै छन् माझी बस्ती : पितृ बोलाउने ठाउँ अतिक्रमण”

  1. Now you tell me that she was not a knockout !

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com