जनयुद्ध लम्बिएको भए भारत-चीन पनि सङ्घर्षमा तानिन्थे

डा. बाबुराम भट्टराई

नेपालमा युद्ध चर्कंदै जाँदा यसले ठूलो क्षेत्रीय संघर्षको रूप लिने खतरा थियो

विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति कस्तो रह्यो? मुख्यतः बुलेटदेखि ब्यालेटसम्म के कारण सम्भव भयो? सोका परिणामहरू के के भए? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के–कस्ता सिद्धान्त प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा म यहा आफ्ना विचार राख्नेछु।

विषयको प्रारम्भमा नै यो दर्शाउन चाहन्छु कि नेपालको राजनीतिमा संक्रमणकाल जारी छ। केही दीर्घकालीन समस्याहरू जो नयाँ रूपमा देखा परेका छन् तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने देखिन्छ। जसका कारण सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ। म आफैं जो माओवादी जनयुद्धको अग्रपंक्तिमा एक दशक होमिएँ, त्यसपछि संविधान निर्माणको अग्रणी भूमिका निर्वाह गरें अहिले माओवादी पार्टीदेखि अलग भएको छु। संविधान निर्माणपछिको तत्कालीन परिदृश्यमा बदलिएको परिस्थितिका नयाँ समस्याहरूको सटिक र अर्थपूर्ण ढंगले समाधान गर्न सक्षम नयाँ राजनीतिक मार्गको रेखा कोर्ने गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणको पहल गरेको छु। तसर्थ बुलेटदेखि व्यालेटसम्म आउँदैमा हाम्रो समाजको लोकतान्त्रीकरणको कार्य समाप्त भइनसकेको सन्दर्भमा श्रीलंका र भारतको विभिन्न स्थानबाट आउनुभएका साथीहरूले के कस्तो विचार प्रस्तुत गर्नुहुनेछ सो सुन्न म व्यग्र प्रतिक्षामा छु।

बुलेटदेखि व्यालेटसम्म भन्ने अभिव्यक्ति सामान्य एवं शाब्दिक अर्थमा भन्नु पर्दा राजनैतिक साधनको बदलाव भन्ने बुझिन्छ। बुलेटले राजनीतिक उद्देश्य प्राप्तिकालागि अपनाइने हिंसात्मक तरिका जनाउँछ भने ब्यालेटले राजनैतिक उद्देश्य प्राप्त गर्ने शान्तिपूर्ण तरिका जनाउँछ। सैद्धान्तिक एवं दार्शनिक हिसाबले भन्नु पर्दा हिंसा र अहिंसा सम्बन्धी निर्णायक समझदारीमा पुग्नु निकै नै चुनौतिपूर्ण काम हो। जब हामी यो विषयमा प्रवेश गर्छौं, तब इच्छाइएको वा नइच्छाएर हिंसात्मक वा अहिंसात्मक तरिकाको प्रयोग वा कुनै परिवेशमा हिंसात्मक वैधता वा अवैधताका रूपमा प्रयोगमा मात्रै बहस सीमित रहँदैन। हिंसा र अहिंसामा आधारित बहसहरूले नैतिक परिदृश्य धारण गर्दछन्, सैद्धान्तिक पण्डितहरूबीच युद्धको मानवीय मूल्य र आर्थिक एवं परिस्थितिको मूल्यका बारेमा तर्कवितर्क सिर्जना गरिदिन्छन्। यी निकै नै विरोधाभाष विषयहरू हुन र सो वारेमा निरपेक्ष नैतिक धारणा बनाउनु असम्भव प्रायः सावित हुनेछ। तसर्थ यी विषयहरूलाई निरपेक्ष तरिकाले हेर्नुभन्दा राजनीतिलाई केन्द्रमा राखेर सापेक्ष रूपमा हेर्नु उचित हुनेछ। किनकि दैनिक राजनीति निरपेक्ष भन्दा पनि विषय र परिस्थिति अनुसार सापेक्ष उत्तरहरूले भरिपूर्ण हुन्छ। सोको सापेक्षताले नै हामीलाई नयाँ तरिकाले सोच्ने, त्यस बमोजिम कार्य गर्ने र हाम्रो लोकतान्त्रिक परिधीबाहिर रहेकाहरूलाई समाहित गरेर अघि बढ्ने नयाँ अध्यायहरूको मार्ग प्रशस्त गरिदिन्छ।

सम्मेलनमा सहभागी नयाँ भट्टराईसहित नेतृहरु हिसिला यमि, मानुषी यमि भट्टराई लगायत।

सम्मेलनमा सहभागी नयाँ भट्टराईसहित नेतृहरु हिसिला यमि, मानुषी यमि भट्टराई लगायत।

अब म नेपाल र नेपालको माओवादी आन्दोलनको विशेष सन्दर्भबारे छलफल गर्न गइरहेको छु। माओवादी आन्दोलनको सशस्त्र संघर्षदेखि शान्तिपूर्ण संवैधानिक रूपान्तरण केही कारणहरूले सम्भव भएको देखिन्छ।

सबैभन्दा पहिले के बुझ्नु जरुरी छ भने नेपालको माओवादी आन्दोलन वैचारिक एवम् आर्थिक– सामाजिक मुद्दाहरूबाट निर्देशित राजनीतीक आन्दोलन थियो जसले जनस्तरमा ठँलै समर्थन प्राप्त गरेको थियो। अर्को कुरा के भने, यो आन्दोलनले नेपालमा बिगतमा प्रजातन्त्र प्राप्तिकालागि एकतन्त्रीय शासनविरुद्ध भएका संघर्ष र क्रान्तिहरूको मर्म बोकेको थियो। प्राध्यापक मुनी, जो यहाँ नै उपस्थित हुनुहुन्छ, उहाँकै शब्दमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन नेपालको तत्कालीन आर्थिक–सामाजिक एवम् राजनीतिक परिवेशको उपज थियो। राजनैतिक रूपमा भन्नुपर्दा आधुनिक नेपालको इतिहासमा राजतन्त्र र लोकतन्त्रबीचको संघर्ष नै नेपालको प्रधान अन्तर्विरोध थियो। नेपालका राजनैतिक दलहरूले आफ्नो गठनकालदेखि नै एकतन्त्रीय शासनविरुद्ध एक वा अर्को रूपमा विभिन्न लोकप्रिय संघर्षहरूको नेतृत्व गरेको देखिन्छ। सन् १९५० मा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्यपछि नेपालमा पहिलो पटक संसदीय प्रजातन्त्रको मार्ग खुलेको थियो।

मैले यहाँ नेपाल र भारतको परिस्थितिका बीचको एक प्रमुख भिन्नता दर्शाउन चाहें। भारतमा स्वतन्त्रता प्राप्तिपछि लोकतान्त्रिक निकायहरूको गठन एवम् सञ्चालन निर्वाध रूपमा हुन पायो भने नेपालमा करिव एक दशकमै प्राप्त उपलब्धी गुम्न पुग्यो। जसको एकमात्र सटिक कारण चाहीँ अस्तित्वमा रहेको राजतन्त्र नै थियो। विशेषतः जब राजा महेन्द्रले सन् १९६० मा निर्दलीय एकतन्त्रीय पञ्चायती ब्यवस्था अंगिकार गरे। यही पृष्ठभूमिमा नेपाली काँग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरूले आफ्नो राजनीति सञ्चालन गरे। सन् १९९० को जनआन्दोलन राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने पार्टीहरूबीचको संघर्षको उपज थियो, जसले जनता र राजनैतिक दलका मागहरूको रूपरेखा कोरेको थियो। यद्यपि यो संघर्ष राजनैतिक दल र शाह राजतन्त्रका बीचमा भएको सम्झौताका कारण टुंगियो। यो सम्झौताको त्रुटी तब देखियो जब संसदीय व्यवस्थाको बीचबाट नै निरंकुश राजतन्त्रको पुनः उदय भयो। सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए। सन् १९९६ मा सशस्त्र संघर्ष सुरु गरेको माओवादीले संसदीय दलहरू र राजतन्त्रबीचको त्यो एकता नै नेपालको राजनीतिको प्रमुख कमजोरीका रूपमा पहिचान गर्‍यो, जसले नेपालको राजनीतिमा प्रमुख दुस्प्रभाव पारिरहेको थियो। राजा, पुरातन संसदीय दलहरू र क्रान्तिकारीहरूबीचको यो त्रिकोणात्मक संघर्षलाई दक्षताका साथ सतहमा ल्याउन नेपाली माओवादीले खेलेको भूमिका राजनीतिकर्मी एवम् प्राज्ञिक व्यक्तित्वहरूले सहर्ष स्वीकार्छन्।

सन् २००५ को शाही ‘कू’ पछि निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिहरूकाबीच समन्वित एवम् प्रभावकारी ढंगले संघर्षका कार्यक्रमहरू प्रस्तुत गर्ने माओवादी नै पहिलो थियो। यो एउटा यस्तो पहलकदमी थियो जसले निरंकुश राजतन्त्रका विरुद्ध माओवादी पार्टी र संसदीय दलहरूबीच पूर्ण लोकतन्त्र प्राप्ति र राजतन्त्रको उन्मूलनकालागि साझा समझदारीको जग खडा गरिदियो। क्लाज्वीचले भनेजस्तै बुलेट र ब्यालेट दुबै राजनीतिको निरन्तरताका लागि चाहिने दुई फरक साधन हुन्। विगतका आन्दोलन देखिको जनताबाट निर्वाचित प्रतिनिधिहरूबाट संविधानको निर्माणको नेपाली जनताको माग एवम् चाहनालाई माओवादीले नयाँ उचाइमा पुर्‍यायो। तसर्थ नेपालको माओवादी आन्दोलनको विशिष्टता के छ भने यसले राजतन्त्रका विरुद्धको लोकतान्त्रिक शक्तिहरूको बुलेटदेखि ब्यालेटसम्मको अन्तिम लडाईंमा निर्णायक भूमिका निर्वाह गरेको देखिन्छ। तत्कालको राजनीतिक शक्ति अथवा माओवादीको शक्ति सशस्त्र आन्दोलनका बेला निर्माण भएकोले उनीहरू सो शक्तिका कारण अन्य पुरातनवादी संसदीय दलहरूलाई संविधानसभाको आवश्यकता महसुस गराउन सफल भएको देखिन्छ। तसर्थ, धेरैले अनुमान गरेभन्दा फरक, माओवादीले नै नयाँ संविधानको निर्माणका लागि निर्वाचनको आह्वान गरेको प्रस्ट हुन्छ।

यहाँ यो बुझ्नु जरुरी छ कि यी घटनाक्रमहरू परिस्थितिजन्य थिएनन, न त शाही ‘कू’ का कारण नै माओवादी यी लोकतान्त्रिक पहलकदमीहरूको माग गर्न पुगेको थियो। सिद्धान्ततः पनि माओवादीहरूभित्रै कम्युनिष्टहरूले लोकतन्त्रलाई गम्भीर रूपमा लिने कुरा कार्यनीतिक रूपमा मात्र नभई दीगो रूपमा हुनुपर्ने प्रशस्त बहसहरू हुने गर्थे। तसर्थ, संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाका त्रुटीहरू पहिल्याउनुका अलवा आफ्नै लोकतान्त्रीकरणमा पनि माओवादीले जोड दिइरहेको थियो। यो एउटा महत्वपँर्ण विन्दु हो। निश्चय नै सबै माओवादी नेताहरू यो बिषयमा सहमत थिएनन्। पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरूसँग संयुक्त मोर्चा बनाउने बिषयमा पार्टी नेतृत्वमा गम्भीर मतभिन्नता थियो। वास्तवमा भन्नुपर्दा पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरूसँग संयुक्त मोर्चा बनाउने बिषयमा जोड दिनेमा म नै पहिलो र केही मध्येमा पर्थें।

प्रतिआतंकवाद सम्बन्धी सम्मेलनमा सहभागीहरु

प्रतिआतंकवाद सम्बन्धी सम्मेलनमा सहभागीहरु

अन्ततः यी मान्यताहरू औपचारिक रूपमा ‘२१औं शताब्दीमा लोकतन्त्रको विकासबारे’ शीर्षकको दस्तावेज मार्फत आत्मसात गरियो। यहीँनेर माओवादीले आत्मसमीक्षा गरे र आफैंलाई प्रश्न गरे कि विगतका समाजवादी र कम्युनिष्ट सत्ताहरूले गरेका गल्तीहरूबाट कसरी बच्न सकिन्छ ? यसैको मान्यताका आधारमा उल्लेखनीय प्रस्तावमा पुग्दै पार्टीका विभिन्न अंगहरू, नेता र कार्यकर्ताहरूको सम्बन्धलाई कसरी लोकतान्त्रीकरण गर्ने भन्ने मान्यताको विकास भयो।

तर राज्यसत्ता र राजनैतिक स्वतन्त्रताका बारेमा पार्टीको दृष्टिकोण र मान्यता सबैभन्दा ध्यान दिन लायक छ। नेपाली माओवादीहरूले यो निर्णय गरे कि जब सत्ता प्राप्त हुनेछ तब प्रतिस्पर्धी पार्टीहरूले क्रान्तिकारी पार्टीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्, त्यसैले माओवादी पार्टीले पनि निर्वाचनको माध्यमबाट जनताको अनुमोदन प्राप्त गर्नेछन्, यसको अभावमा क्रान्तिकारी पार्टी पनि विस्तारै अधिनायकवादी नोकरशाही संस्थामा पतन हुनेछ।

माओवादीको सैद्धान्तिक र वैचारिक मान्यताको विशिष्ठताका आधारभूत जानाकारी बिनाको माओवादीले अवलम्बन गरेको बुलेट टु ब्यालेटको संक्रमणसम्बन्धी बुझाइ अधुरो र अपुरो हुन्छ।

उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रूपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो। समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रूप लिने खतरा थियो।

सम्पूर्ण रूपमा हार वा जीतको प्रकृतिको द्वन्द्वको सन्दर्भमा नयाँ संविधानलाई पुरानो सत्ताको अन्त्य र नयाँ राजनीतिको आरम्भको प्रतिकका रूपमा लिने गरिन्छ। यसलाई राजनीतिशास्त्रीहरूले प्रतिस्थापन मोडेल पनि भन्ने गरेका छन्।

तथापि राजनैतिक द्वन्दहरू कहिलेकाहीँ कुनै पनि पक्षको पूरै जीत वा हारको अवस्थामा पुग्न नसकी बीचैमा टुंगिएको पनि हुन्छ। यस्तो अवस्थामा संविधान निर्माण एक युद्धविरामको अवस्था वा शान्ति सम्झौताको अवस्थामा परिणत हुन्छ। यस्तो अवस्थामा वन्ने संविधान द्वन्द्वरत पक्षहरूको सम्झौताको दस्तावेजका रूपमा ग्रहण गरिन्छ।

नेपालको संविधान निर्माण प्रक्रिया यी दुबै प्रक्रियाको बीचको अवस्थावाट गुज्रेको थियो भन्न सकिन्छ। राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा नेपालको नयाँ संविधानको एक उल्लेखनीय पक्ष हो जसले एक हिसावले पुरानो राजनैतिक सत्तावाट फड्को मारेको हो भन्न सकिन्छ। तर अर्कोतर्फ माओवादी र गैरमाओवादी पार्टीहरूका बीचमा संसदीय लोकतन्त्रमा संस्थागत सम्झौता भएको हो भन्न सकिन्छ।

यो प्रक्रियामा संसदवादी दलहरूले उनीहरूको पुरानो राजनैतिक विश्वास परित्याग गरेर परम्परागत उदारवादी मान्यताको अलावा आर्थिक–सामाजिक रूपान्तरणको क्रान्तिकारी मान्यताको आत्मसात गरेको अवस्था हो। उदाहरणकालागि संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सहभागितामूलक लोकतन्त्र, भूमिसुधार जस्ता उपलव्धीहरू प्राप्त भएका छन्। अर्कोतर्फ माओवादीले पनि आफ्ना केही वैचारिक मान्यताहरूलाई थाति राखेर परम्परागत रूपमा उदारवादी लोकतन्त्रसँग सम्वद्ध निजी सम्पत्तिको संरक्षण, कानुनी राज, शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसात गरेको छ।

माओवादी र गैरमाओवादीहरूबीच भएका उपरोक्त प्रतिवद्धता र समझदारीहरू वा सम्झौताहरूले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेका हुन्। अर्को शब्दमा भन्ने हो भने यी मान्यताहरू नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नकालागि आधारभूत मान्यताहरू हुन्।

सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराई।

सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराई।

यदि हामीले मुख्य लक्ष्यका बारेमा पुनःस्मरण गर्ने हो भने नेपालको संविधान निर्माण र लोकतान्त्रिक संक्रमणका बारेमा बुझ्न धेरै गाह्रो पर्ने छैन। संविधान जारी भइसकेपछि पनि तराई/मधेशका जनता र आदिवासी जनजातिहरूको असन्तुष्टिले यसको अन्तर्यमा रहेको समस्यालाई वोध गर्न सहज बनाउँछ।

यदि द्वन्दको मूल कारणलाई सम्बोधन गरिएन भने, आर्थिक–समाजिक रूपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायीत्वतर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ।

यो नेपालको हालैको अनुभवबाट सिक्न सकिने मध्येको एक महत्वपूर्ण पाठ हो। तथापि हामीले विषयवस्तुलाई धेरै सामान्यीकरण पनि गर्नुहुन्न। किनभने, बुलेटबाट ब्यालेटमा संक्रमणका अनुभवहरू समय र परिवेश विशेषका अनुभवहरू हुन्। नेपालको सन्दर्भ एक यस्तो उत्तम सन्दर्भ हो जहाँ सिक्नु पर्ने र सिक्नु नपर्ने कैयौं विषयहरू छन्।

अन्तमा, लोकतान्त्रिक संक्रमण एक निरन्तर जारी रहने नियमित प्रक्रिया हो। त्यसैले नयाँ संस्थाहरूको सिर्जना गर्नु र संवैधानिक उपचार प्राप्त गर्नु निश्चय नै कठीन कार्य हो तथापि राष्ट्रले विना कुनै थकान निरन्तर जनतासँगको सम्बन्धलाई लोकतान्त्रीकरण गर्न लागिरहनुपर्छ। यही मान्यताका आधारमा निर्देशित हुँदै मैले नयाँ लक्ष्य, उद्देश्य सहितको यात्रा आरम्भ गरेको छु। नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रूपान्तरण गर्ने एक महान अभियान पनि हो।

क्रिष्टोफर कोलम्वसले एकपटक भनेका थिए– ‘तपाईं महासागर पार गर्न सक्नुहुन्न जबसम्म तपाईंले देखेको किनारालाई पछाडि छोड्ने साहस राख्नुहुन्न।’ मैले त्यही बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमबाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु। त्यसैले शान्ति, समृद्धि, न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरि हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔं।

‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु ब्यालेट’ विषयमा चैत २ गते भारतमा गरेको सम्बोधनको सम्पादित अंश।

 प्रकाशित ३ चैत २०७३, बुधबार | 2017-03-16
http://nepalkhabar.com/ बाट
Posted by on Mar 15 2017. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “जनयुद्ध लम्बिएको भए भारत-चीन पनि सङ्घर्षमा तानिन्थे”

  1. lUz6uT I wanted to thank you for this great write-up, I definitely loved each and every little bit of it. I ave bookmarked your web site to look at the latest stuff you post.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com