आदिवासी जनजाति महासंघ इलाममा चक्र येक्तेनको अध्यक्षतामा नयाँ सचिवालय निर्वाचित

इलाम : नेपाल आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् ।

बिहिबार इलाममा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट येक्तेन भारी मतका साथ निर्वचित भए । अध्यक्षका प्रत्यासी अम्बर देवानलाई १३ मतको अन्तरले पराजित गर्दै येक्तेन आगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । १६ जातीय संस्थाका प्रतिनिधिहरु मतदानमा सहभागी रहेको निर्वाचनमा येक्तेनले १४ मत पाएका थिए । देवानले १ मत मात्र पाए । १ मत बदर भएको थियो । देवानले आफ्नै मत बाहेक कसैको मत पाउन सकेनन् ।

विजयी बनेका येक्तेन किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष हुन् भने पराजित देवान किरात याख्या छुम्माका पूर्व केन्द्रीय सदस्य हुन् ।

यसैगरी दुई उपाध्यक्षका लागि तीन जना उम्मेद्वारबीच भएको प्रतिष्पर्धामा सागर भुजेल र दीपक गुरुङ निर्वाचित भएका छन् । भुजेलले १६ मत र गुरुङले १२ मत ल्याएका थिए । यता उपाध्यक्षमा पराजित गञ्जु प्रधानले ४ मत मात्र पाएका थिए । भुजेल यसअघिका कार्यसमिति कोषाध्यक्ष हुन् ।

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास गरिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो ।

अध्यक्ष र दुई उपाध्यक्ष बाहेकका सबै पदका प्रत्यासी सर्वसम्मत निर्वाचित भए । महिला उपाध्यक्षमा इन्द्रकुमारी योल्मो (लक्की) निर्वाचित भईन् । सचिवमा इश्‍वर लुङ्गेली मगर निर्वाचित भए । मगर यसअघिका समितिका सहसचिव हुन् ।

सहसचिवहरुमा चित्र थामी र छत्रबहादुर लाप्चा तथा महिला सहसचिवमा देवकुमारी सुनुवार निर्वाचित भए । कोषाध्यक्षमा प्रविना राई निर्वाचित भईन् ।

नेपाल आदिवासी जनजाति महासंघको विधान अनुसार पदाधिकारीहरुको ९ सदस्यीय सचिवालय समिति गठन भएको हो । त्यसैगरी संघीय परिषद सदस्यहरुमा दावा शेर्पा, दलबहादुर तामाङ, माङ्गा उराउ, बिमला दनुवार, हेमबहादुर कुमाल, अम्बर देवान र गञ्जु प्रधान चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष किरण सुनुवारले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यसैगरी अधिवेशनले विभिन्न १० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आदिवासी जनजातिहरुको पहिचान र अधिकारसँग सम्बन्धित प्रस्तावहरु पारित भएका हुन् ।

के-के छन् त १० बुँदे समसामयिक प्रस्तावमा ???

१. पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान प्राप्त गरि देशलाई दीगो शान्तिको बाटोमा लैजान आदिवासी जनजाति महासंघले लिएको संकल्प अपुरो रहेको नेपालको संविधान २०७२ संसोधन गरी आदिवासी जनजाति महासंघले उठाएको उचित मागलाई तुरुन्त सम्बोधन गर्न नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलाम नेपाल सरकार र राजनैतिक दलसँग जोडदार माग गर्दछ ।

२. नेपालको राष्ट्रिय जनवार गाई लाई हटाई एक सिंगे गैँडा बनाइयोस् भनी जोडदार माग गर्दछ ।

३. राज्यको पुनर्संरचना गर्ने क्रममा संविधानको धारा ५६ (५) बमोजिम आदिवासी जनजातिहरुको सामाजिक, सांस्कृतिक, भाषिक, आर्थिक विकासको लागि विषेध क्षेत्र, संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र समेत रहने गरि गाउँपालिका र नगरपालिका गठन गरिनुपर्नेमा विषेश क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको गठन नभएकोप्रति आपत्ति प्रकट गर्दै संविधान बमोजिम विषेश क्षेत्र, स्वायत्त र संरक्षित क्षेत्रको गठन गरियोस् भनी जोडदार माग गर्दछ ।

४. नेपालको संविधानको धारा ४ मा व्यवस्थित धर्म निरपेक्षताको स्पष्टिकरण खण्ड विरोधाभाषपूर्ण भएकोले उक्त खण्ड हराइयोस् भनी जोडदार माग गर्दछ ।

५. आदिवासी जनजातिहरुको भाषा उत्थानको लागि आदिवासी जनजाति आफैंले आर्थिक भार व्यहोर्नुपर्ने प्रावधान हटाई सम्पूर्ण जिम्मेवारी सरकारको हुने व्यवस्था गरियोस् भनी जोडदार माग गर्दछ ।

६. आदिवासी जनजाति लगायत सबै जातिको सहभागिता सुनिश्चत गर्न राज्यको सबै अगंमा पूर्ण समानुपातिक समावेशीता गालू गरियोस् भनि जोडदार माग गर्दछ ।

७. स्थानीय तहको निर्वाचनमा आदिवासी जनजातिको प्रतिनिधित्व शुन्य बनाएकोप्रति घोर आपत्ति प्रकट गर्दै आदिवासी जनजातिको स्थानीय तहमा उचित प्रतिनिधित्वको व्यवस्था गरियोस् भनी जोडदार माग गर्दछ ।

८. आदिवासी जनजातिको जल, जमिन र जङगल माथिको अन्तराष्ट्रिय सन्धी, घोषणा पत्रमार्फत सुनिश्चित भइसकेको अधिकार प्रचलन उपभोगको लागि अचित व्यवस्था गरियोस् भनी जोडदार माग गर्दछ ।

९. नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिवासी जनजातिको उत्थानको निम्ति क्रियाशील भएको हुँदा यसलाई यथावत कायम राखियोस् भनी जोडदार माग गर्दछ ।

१०. आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्ने महासन्धि १६९ सरकारले अनुमोदन गरीसकेको हुँदा महासन्धिलाई तुरुन्त कार्यन्वायन गरियोस् र नेपालको कानुनमा तुरुन्त परिमार्जन गरियोस् भनी जोडदार माग गर्दछ ।

nayabulanda.com/ को सहयोगमा

Posted by on Mar 24 2017. Filed under समाचार, समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com