राष्ट्रियता दह्रो कसरी हुन्छ ?

प्रा. डा. महेन्द्र लावती

चैत्र ११, २०७३- राष्ट्रले आफ्नो शासन आफैं गर्नुपर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता हो। राष्ट्रियता प्रभावकारी हुन राष्ट्र दह्रो हुनुपर्छ। राष्ट्र भनेको ‘हामी एउटै समुदायका हौं’ भनेर जनाउने पहिचानात्मक राजनीतिक भावना हो।

यसको अन्तरसम्बन्धित दुई पक्ष हुन्छन्। एक, सम्बन्धित सबैले हामी एउटै साझा समुदायका हौं भनी महसुस गर्नुपर्छ। दुई, सम्बन्धित सबैले एकअर्कालाई समान सदस्यको रूपमा सहर्ष स्वीकार गर्नुपर्छ। यी दुवै पक्ष पुरा भएमा राष्ट्र र राष्ट्रियता मजबुत हुन्छ। नेपाली राष्ट्रियता दह्रो हुन सबै नेपालीले नेपाल राष्ट्रको सदस्य हुँ भनेर मात्र पुग्दैन, एकअर्कालाई समान सदस्यको रूपमा स्वीकार्नु पनि पर्छ।

तर अहिले नेपालमा रूप, रंग, भाषा, धर्म र संस्कृतिको आधारमा अरुको नेपालीपनमा प्रश्न गर्ने, शंका उठाउने या होच्याउने प्रवृत्ति दल र नेतादेखि सञ्चार क्षेत्र र विशेष गरेर सामाजिक सञ्जालमा बढेको देखिन्छ। फरक संस्कृति भएका र फरक देखिएको आधारमै नेपालका मुस्लिम र मधेसी नागरिकको नेपालप्रतिको देशभक्तिलाई शंका गर्ने गरेको पाइन्छ। यसले निषेधक पहाडे राष्ट्रियता दह्रो त होला, तर त्यसको प्रतिक्रियास्वरुप निवारक मधेसी राष्ट्रियता पनि फस्टाउँदै जान्छ। निषेधक पहाडी र मधेसी राष्ट्रियता बढ्न थाल्नु भनेको नेपाली राष्ट्रियता कमजोर हुनथाल्नु हो।

नेपालको विडम्बना भनेको एकताको नारा लगाउने केही दल र जातका केही सदस्यको क्रियाकलापबाट नेपाली राष्ट्रियतामा नकारात्मक असर पर्दैछ। जानेर या नजानेर या छोटो स्वार्थका निम्ति मधेसी मोर्चा र तिनका नेताहरू र मधेसी जनताको नेपाली राष्ट्रियतामा शंका उब्जाउने तौरतरिकाले गाली गरेर मधेसी नेता र जनताको केही साख त झार्न सकिएला, तर त्यसले नेपालभित्र मधेसीहरूले हक, अधिकार र आत्मसम्मान पाउन सम्भव छैन भन्ने स्वतन्त्र मधेसवादीलाई मलजल पुर्‍याउन सक्छ। लोकतन्त्रमा दलहरू र उनीहरूका कार्यकर्ताले अन्य दलको आलोचना गर्नु स्वाभाविक र आवश्यक पनि हो। तर जब भाषा, जाति, धर्म आदि फरक भएकै आधारमा क्षणिक राजनीतिक लाभको लागि कसैको देशभक्तिमाथि लाक्षणा लगाइन्छ, तब नेपाली राष्ट्रियता कमजोर हुनथाल्छ। अधिकार माग्नेसाथ राष्ट्रप्रतिको बफादारीमाथि प्रश्न गर्ने, असमान व्यवहार जारी राख्ने र होच्याउने प्रवृत्तिले दलित र आदिवासीहरूबीच पनि उल्लेखनीय असन्तुष्टि बढाएको छ र यस्तो प्रवृत्तिले राष्ट्रियतालाई दह्रो बनाउन सहयोग पुर्‍याउँदैन।

केही पद र साधन छर्केर आस देखाउँदै केहीलाई थम्थमाउन सम्भव होला। तर सबैलाई पद पुर्‍याउन सकिँदैन। नीतिगत सम्बोधनले मात्र धेरैसमक्ष समानता बढाउन सकिन्छ। त्यसको अभावमा असन्तुष्टि चुलिन थाल्छ। शिक्षाको फैलावट, परदेशको कमाइ र अन्य माध्यमबाट बढ्दै गरेको आत्मनिर्भरताले पुरातन रीतिरिवाज, असमान सामाजिक मान्यता र सम्बन्धप्रति प्रश्न र प्रतिकार गर्ने समूह दलित, मधेसी र आदिवासीहरूबीच बढ्दै गइरहेको छ। दुई तिहाइभन्दा बढी जनसंख्या रहेका आदिवासी, दलित र मधेसीहरूमा पुरातनवादी बहिष्कारक राष्ट्रियताप्रति बढिरहेको असन्तुष्टिले हाल परिभाषित नेपाली राष्ट्रियता दरिलो बन्न सक्दैन भनी इंगित गर्छ।

नेपाल जस्तो जातीय र सांस्कृतिक विविधताले भरिएको राज्यमा पहिचानयुक्त ‘हामी’ भन्ने साझा भावना विकास गर्न एउटै जातिमात्र रहेको देशको दाँजोमा चुनौतीपूर्ण हुन्छ, तर असम्भव भने होइन। अमेरिकामा सयौं देशका हजारौं जाति र भाषाका मानिस बसाइँ सरे पनि त्यहाँको नागरिकता लिएपछि सबैले सबैलाई अमेरिकी भनी स्वीर्काछन्, चाहे ती एसियाली अमेरिकी हुन् या हिस्प्यानिक अमेरिकी हुन्। अनि बेनिडिक्ट एन्डरसनले भनेजस्तै अमेरिका होमिएको लडाइँमा होमिन तयार हुन्छन्। शत्रुलाई मार्नमात्र होइन, कहिले नभेटिने र नचिनिने अमेरिकीहरूको (चाहे ती गोरा, काला या खैरा हुन्) निम्ति मर्न पनि तयार भएर। राष्ट्रले समान सदस्यको रूपमा स्वीकार्‍यो भने मानिस राष्ट्रका निम्ति मर्न पनि तयार हुन्छन्। अत्यन्त विविधताले भरिपूर्ण भारतमा पनि चाहे ती तमिल या तेलेगु या मिजो हुन्, हामी भारतीय भनेर गर्व गर्छन् (केन्द्रको बारम्बार हस्तक्षेप र उक्त क्षेत्रलाई दिइएको अधिकारको कटौतीपश्चात कश्मिरमा भने हामी भारतीय भन्ने भावना कमजोर भइरहेको छ)।

कसरी यस्ता विविधतापूर्ण देशहरूले साझा राष्ट्रियताको विकास गर्नसके? अमेरिकाले सबैलाई आ–आफ्नो पुख्र्याैली पहिचानमा रमाउन स्वतन्त्रता दिएको छ। छिमेकीहरूसँगको सम्बन्धमा आलोचित रहे पनि भारतले देशभित्र बिभिन्न जात, जाति, भाषी र धर्मावलम्बीहरूबीच गरेको व्यवस्थापनलाई सफल मानिन्छ। उसले तमिल, तेलगु, मिजो र अन्य अनगिन्ती भाषा, धर्म, जात, जाति र सांस्कृतिक पहिचानलाई मान्यता र समानता प्रदान गरेको छ।

राज्यले बिभिन्न जात, जाति, भाषी, धर्म आदिको विशेष पहिचान स्वीकारेर त्यसमा आधारित संस्कृतिलाई मान्ने स्वतन्त्रता र संरक्षण एवं सम्बद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेका देशहरूमा सबैले सहर्ष देशको साझा पहिचान स्वीकार गरेका छन्। कुनै बेला पृथकतावादी आन्दोलन मच्चिएको तमिलनाडुका नागरिकले आफूलाई एकैसाथ भारतीय पनि र तमिल पनि भनेर गौरव गर्नथालेको दशकौं भइसक्यो। विविधतापूर्ण देशहरूमा नागरिकमा रहने बहुपहिचानलाई राज्यले सम्मान गर्दा साझा पहिचानयुक्त राष्ट्रियता फस्टाएको छ।

अर्कोतिर नागरिकमा रहेको विशेष पहिचानलाई बेवास्ता गर्ने प्रयासले भने अनिष्ट निम्त्याएको छ। विश्वभरि यस्ता उदाहरण प्रशस्त छन्, तर दक्षिण एसियाकै उदाहरण बढी सान्दर्भिक हुनेछन्। श्रीलंकामा हिन्दु धर्मावलम्बी तमिल-भाषीहरूमाथि सिन्हालीभाषी बौद्ध धर्मावलम्बीहरूले असमान व्यवहार गर्न सुरु गरेपछि तमिल पृथकतावादी आन्दोलन चर्केको थियो। तीन दशक लामो गृहयुद्धमा लगभग एक लाख मानिस मारिए। त्यस्तै बंगाली भाषा, संस्कृति र समुदायलाई असमान व्यवहार गर्दा एउटै धर्मावलम्बीहरूका लागि निर्माण गरिएको पाकिस्तान पनि टुक्रिन पुग्यो, जबकि पाकिस्तानभन्दा धेरै विविधतापूर्ण भारतले धर्मनिरपेक्षता र अन्य समावेशी तथा सत्ता साझेदारी संरचनाहरू अपनाएर देशलाई एकतामा बाँध्न सफल भएको छ। यी उदाहरणले विविधतालाई आत्मसात गर्दा राष्ट्रियता दह्रो हुने र विविधतालाई इन्कार गर्दा राष्ट्रियता कमजोर हुने गरेको देखाउँछ।

नेपालमा अहिले फेरि एकल जातीय राष्ट्रियताको परिभाषा लाद्ने प्रयास भइरहेको छ। निरङ्कुश शासनमा नागरिकले बोल्न नपाउने र असन्तुष्टि जनाउँदा महंँगो पर्ने भएकोले एकल जातीय राष्ट्रवाद धेरैले स्वीकार गरेजस्तो भान परेको हो। तर कालान्तरमा त्यो मिथ्यामात्र हो भन्ने सावित भयो। लोकतन्त्रसँगै बोल्ने र विरोध गर्ने अधिकार पाएपछि धेरै देशमा निरङ्कुश शासनमा लादिएको एकल जातीय राष्ट्रियता छताछुल्ल भए। त्यस्ता प्रयास दिगो हुँदैनन् भन्ने कुरा त एकल जातीय रूसीहरूको दबदबालाई संस्थागत गरेको सोभियत संघजस्तो विश्वशक्ति टुक्रिएपछि झन् प्रस्ट भयो। नेपालमा पनि एकल जातीय महेन्द्रीय राष्ट्रवाद असफल भएको हुनाले नै अहिले बिभिन्न समुदाय नेपाली राष्ट्रियतालाई परिमार्जित र समावेशी बनाउन पहिचान र अधिकारको आन्दोलनमा अग्रसर छन्। महेन्द्रीय राष्ट्रवाद सफल भएको भए यी आन्दोलनहरू उठ्ने थिएनन्।

कोही पनि मानव लोकतान्त्रिक युगमा सधैंभरि दोस्रो दर्जाको प्रजा रहिरहन चाहँदैन। सबै समुदाय बसेर, छलफल गरेर, खुला हृदयसाथ एकअर्काको विचार, चाहना र आकांक्षा सुनेर षड्यन्त्ररहित प्रक्रियाअनुसार आपसी सहमतिको आधारमा परिभाषित राष्ट्रियतामात्र धेरैभन्दा धेरैलाई मान्य हुन्छ। त्यस्तो नेपाली राष्ट्रियतामात्रै दरिलो हुन्छ।

प्रकाशित: चैत्र ११, २०७३

http://kantipur.ekantipur.com/ बाट

 

Posted by on Mar 24 2017. Filed under दृष्टिकोण, पत्रपत्रिकाबाट, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com