गोरखा राज्यविरुद्ध घले राजाको विद्रोह

– राजकुमार दिक्पाल
दुई वर्ष अघि आएको बिनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक निक्कै चर्चित छ । यो ठाउँको चर्चा इतिहासका विभिन्न प्रसँगमा पनि पाइन्छन् । यस ठाउँमा घलेहरुले राज्य गर्थे । त्यसबेला बारपाकले चाहे गोरखा राज्यमा नुनको हाहाकार बनाउन सक्थ्यो । समय समयमा बारपाकको गोरखा राज्यसँग द्वन्द्व, युद्ध र मित्रता गाँसिदै रह्यो । यसै सम्बन्धमा चार सय वर्ष पुरानो इतिहासलाई संक्षिप्त रुपमा  प्रस्तुत गर्ने प्रयास यस लेखमार्फत् गरिएको छ ।

द्रब्य शाहको मृत्यूपछि उनका छोरा पूर्ण शाह (कतै पुरन्दर शाह) गोरखाका राजा भए । उनको समयमा बारपाकीसँग गोरखाको लडाई चल्यो । बारपाकको हर्ताकर्ता त्यसबेला चाग्या घले थिए । उनको भाई सुर्तान पनि दाजुसँगै सक्रिय थिए ।

बारपाकीसँग गोरखाको लडाई चलेपछि चाग्या—सुर्तानले गोरखामा नुन रोकिदिए । गोरखामा नुनको हाहाकार भयो । त्यस समयमा लमजुङ र तनहुँले पनि गोरखालाई दुःख दिइरहन्थ्यो । चाग्या—सुर्तानलाई मार्न वा हराउन नसकिएपछि गोरखाका राजा पूर्ण शाहले उनीहरुसँग मित्रता कायम गर्नुपर्ने निष्कर्ष निकाले । ‘गोरखा र बारपाकबीच मित्रता भए अरुले केही गर्न सक्दैन’ भन्ने प्रस्ताव राजा पूर्ण शाहले चाग्या—सुर्तानलाई पठाए । गोरखाको यस्तो प्रस्तावले चाग्या—सुर्तानको चित्त बुझ्यो । त्यसपछि उनीहरु मित्रता गाँस्न गोरखा आइपुगे । त्यतिबेला तनहुँबाट गोरखामा उपहार आएको हात्ती देखाइयो चाग्या—सुर्तानलाई । हात्ति देखाएर उनीहरुलाई भनियो,‘पहाडमा नहुने यसले नुन खान्छ ।’

त्यसपछि बारपाक र गोरखाबीच मित्रता गाँसियो । चाग्या—सुर्तानले हरेक वर्ष २१ मुरी नुन गोरखा पठाउन थाले । यसले गोरखामा रहेको नुनको समस्या तत्काललाई टर्यो । साथै चाग्या—सुर्तानले भोटबाट नुन ल्याउने बाटो पनि खुलाइदिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २८ मा प्रकाशित गोरखा वंशावली (श्रावण २०३१ः३)मा उल्लेख छ ।
यसरी राजा पूर्ण शाहको समयमा गोरखा र बारपाकबीच मित्रता गाँसियो ।

पूर्ण शाहपछि गोरखामा उनका छोरा छत्र शाह राजा भए । छत्र शाह राजा भएको सात महिनापछि परलोक भए ।  पूर्ण शाह कहिले परलोक भए भन्ने बिषयमा मतक्यैता छैन । इतिहासकार दिनेशराज पन्तले ‘गोरखाको इतिहास’ पहिलो भाग (२०४१ः७०)मा इतिहासको विभिन्न स्रोतहरु उधृत गर्दै  पूर्ण शाहको मृत्यू वर्ष वि.सं. १६५७, १६६२ र १६६६ लेखिएको उल्लेख गरेका छन् । पूर्ण शाहको पालाको प्रामाणिक सामग्री उपलब्ध नभएकोले उनको मृत्यू वर्ष कुन हो, यसै भनिहाल्न सकिने अवस्था नरहेकोले यस प्रसँगमा पन्त निष्कर्षमा पुग्न सकेका छैनन् ।
छत्र शाहपछि गोरखाको गद्दिमा बसेका उनका भाई राम शाहको राज्यकालका बिषयमा भने इतिहासकार पन्त निष्कर्षमा पुगेका छन् । उनले ‘कैलाश’को वर्ष १, अंक १ (सन् १९७३ः७९)मा प्रकाशित लेख ‘राम शाहको राज्यकाल–एक चर्चा’मा राम शाहको राज्यकाल वि.सं. १६७१ देखि १६९३ रहेको स्पष्ट हुन आएको उल्लेख गरे पनि उनले यो लेखमा राजा राम शाहको राज्यकालको निश्चित मिति भेट्टाउन अरु बढि अन्वेषणको खाँचो रहेको औल्याएका छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले भने ‘पूर्णिमा’को पूर्णाङ्क २७ (आश्विन २०२९ः१६२)मा राम शाहको समय वि.सं. १६६३ देखि १६९० उल्लेख गरेका छन् ।
गोरखाका प्रशिद्ध राजा राम शाहको समयमा गोरखा र बारपाकबीच निक्कै ठूलो द्वन्द्व थियो । ‘प्राचीन नेपाल’ संख्या २८(श्रावण २०३१ः१८–२१)मा प्रकाशित ‘गोरखा वंशावली’को राम शाह प्रकरणमा लामो गरेर रोचक पारा यस सम्बन्धमा बर्णन ले गरिएको छ । यसको सारसंक्षेप यस्तो छ ः

गोरखा र लमजुङबीच राम्रो सम्बन्ध थिएन । एकापसमा लड्न र लडाउन त्यसबेला बिभिन्न दाउपेचहरु भइरहन्थे । यसैक्रममा लमजुङ र बारपाकबीचको सल्लाहपछि चाग्या—सुर्तानले गोरखामा जासुसी गर्न आफ्ना मानिस पठाए । त्यहाँ मानिस पठाउनुको उद्देश्य तालमेल मिलाएर राम शाहको हत्या गर्नु थियो ।

राम शाहमाथि जासुसी र आक्रमण
चाग्या—सुर्तानको आदेशअनुसार २-४ घलेहरु गोरखा दरबारमा आए । उनीहरुले राम शाहसमक्ष बिन्ति चढाउँदै भने, ‘हामी बारपाकबाट फुटेर आएका हौँ, हाम्रा राजाले हामीलाई बिनासित्ति दुःख दिए । हजुरको न्याय निसाफ राम्रो छ भन्ने सुनेर आएका हौँ ।’

उनीहरु गोरखामा आई डेरा जमाएर बस्न लागे । तर राम शाहका ६ थरका भारदारहरुले भने यी घलेहरुमाथि शंकाको नजरले हेर्न लागे । त्यसबेला गोरखाको ६ थर भन्नाले पाँडे, पन्त, अज्र्याल, खनाल, राना र बोहरा पर्थे । उनीहरुले राजा राम शाहलाई ‘यी घलेहरु आफ्ना मूलुकबाट अन्यत्र जाने खालका होइनन्’ भन्ने बिन्ति गरे । राम शाहले उनीहरुमाथि जाँचबुझ गर्न आफ्ना मानिस खटाए ।

गोरखाली भारदारहरुले आफूहरुमाथि शंकाले हेर्न थालेको उनीहरुले चाल पाए । उनीहरुले यस बिषयमा आफ्ना राजालाई खबर पठाउँदै सोधे,‘यी गोरखालीहरु बहुत चतुर रहेछन्, के गर्ने होला ?’
चाग्या—सुर्तानले यो खबर पाएपछि ‘त्यहाँ (गोरखामा) नबस्न र यता (बारपाक)बाट ८०÷१०० मानिस पठाएका छौं । त्यहाँ सामेल हुनका लागि कोहि सिकार खेल्ने र तरुल भ्याकुर खोज्नेजस्तो भएर बनमा पस्नू । कोही माग्ने अनि कोही ब्यापारीजस्तो भएर राजाको हालखबर बुझ्दै गर्नू ।’

च्याग्या–सुर्तानको यस्तो आदेश आएको लगात्तै १००÷८० जना बारपाकीहरु पनि गोरखा आइपुगे ।

एक दिन राम शाह शिकार खेल्न बालुवाबेसी गए । उनीसँग १०-१२ जना सहयोगी थिए । यहीँ मौकामा बारपाकबाट आएका घले गुरुङहरुले उनीमाथि धनुकाँड प्रहार गरे । राम शाहले पनि शस्त्र विद्या जानेका थिए । ढाल तरबारको प्रयोग भयो । कोही गोरखाली गुहार माग्न गए । राम शाहको रणकुशलता र शस्त्रविद्यासामु बारपाकी झुक्न बाध्य भए । उनले ती बारपाकीहरुसँग केरकार गर्दा आफूहरुलाई लमजुङले यस्तो गर्न उकासेको हो भन्ने जवाफ दिए । राम शाहले फेरि उनीहरुलाई भने,‘चाग्या–सुर्तानसँग हाम्रो मित्रता थियो, यो कुरा भन्छौ कि भन्दैनौँ ?’ बारपाकीहरुले आफ्ना राजालाई यो कुरा भन्ने बताए । बारपाकी राजासँग आफूहरुको पुरानो मित्रता रहेको त्यो कायमै गराउन आदेश दिएर ती बारपाकीहरुलाई राम शाहले छाडिदिए ।

मितेरीको बाहनामा चाग्याको हत्या
आफ्ना मानिसलाई पक्रिएर पनि नमारेकोले राम शाह धर्मात्मा रहेछन् भन्ने लाग्यो, चाग्या–सुर्तानलाई । उनीहरुले मित्रताकै मनसुवा राखी राम शाहलाई पत्र पठाए । यसबारे राम शाहले ६थर प्रभृति भारदारहरुलाई सुनाए । भारदारहरुले चाग्या–सुर्तानको फौज धेरै भएको, उनीहरु सारीरिक बलमा पनि बलियो भएकोले उनीहरुलाई हराउन कठीन हुने भएकोले छल गरी मार्नुपर्ने सुझाव राम शाहलाई दिए । यसका लागि चाग्या–सुर्तानलाई हतियार नलिई बालुवाबेसीमा मीत लगाउन बोलाए । यता गोरखालीहरुले भने मित लगाउने अघिल्लो दिन नै बालुवाबेसीमा गई खँुडा, खुकुरी, तरवार आदि लुकाइराखे ।

ती भारदारहरु राम शाहजस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरी विदा भएर बालुवाबेसी गए । चाग्या–सुर्तान पनि पूर्वसर्तअनुसार हात हतियार नलिई आफ्ना लस्करका साथ बालुवाबेसी आइपुगे । गोरखालीहरुले आफ्नोअनुकुल ठाउँमा उनीहरुलाई राखे । दुबैतर्फ आराम कुशल बिषयमा कुराकानी भए । मितेरी लगाउने काम सुरु भयो । त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंक भएर मितेरी समारोह हेर्न लागे । त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकी चाग्या–सुर्तानमाथि प्रहार गरे । चाग्या त्यही मारिए । सुर्तान भाग्न सफल भए ।

१२÷१५ जना घलेहरुलाई पक्रिइयो । बाँकीलाई काटियो । पक्राउ परेका बारपाकीहरुलाई सोधियो,‘तिम्रा राजा त मारिए, के भन्छौ ?’
बारपाकीहरुले भने,‘हाम्रा राजा मरिगए । एउटा राजालाई हामीले मान्नै पर्छ । हाम्रा राजाका भारदार पनि हामी नै हौँ । बारपाक तिमीहरुको भयो । अरु मुलुक तिमीहरुको भएको छैन । अरु मूलुक जित्न हामीलाई पनि अघि सार ।’

यो कुरा राम शाहलाई जाहेर भयो । उनले भारदारहरुलाई आदेश दिए,‘च्याग्यालाई मारेछौ । बारपाक हात लागेछ । बाँकी रहेका हाम्रा सेवक भए । उनीहरुलाई अघि सारेर अठारसयखोला जित्न अघि बढ ।’

त्यसपछि गोरखालीहरु अठारसयखोला क्षेत्र जित्न अघि बढे ।

सुर्तानको हत्या
बारपाकी राजा चाग्या मारिए पनि उनको भाई सुर्तान जिवितै थिए । गोरखा राज्य विस्तार गर्दै हिडेका गोरखालीहरु सुर्तानको खोजी पनि गर्दै थिए । सुर्तान बालुवाबेसीबाट भागेर बस्याहारी (बसेरी) आई घर बनाइ बसिरहेका सूचना गोरखालीहरुले पाए । राम शाहबाट सुर्तानलाई मार्न हुकुम भयो । गोरखालीहरु सल्यान (सल्यानटार) जित्न अघि बढेका थिए । त्यो फौज बस्याहारीतिर बढ्यो र उनीहरुले सुर्तानको पनि हत्या गरे । बसेरी र सल्यानटार दुवै अहिले धादिङ जिल्लामा पर्छ ।

हत्या भएको अनुमानित मिति
चाग्या–सुर्तानको हत्या भएको मिति खुल्न सकेको छैन । तर यसमा केही अनुमान भने गर्न सकिने अवस्था छ । गोरखा वंशावलीमा राम शाहको कचहरीमा सम्मिलित हुँदा सिद्ध लखन थापा (प्रथम)ले चमत्कार देखाएका थिए । ‘प्राचीन नेपाल’को संख्या २८ (श्रावण २०३१ः१४)अनुसार लखन थापाको यस्तो सहभागिता र चमत्कार देखाएको केहीपछि राम शाह राज्य विस्तार अभियानमा लागेका देखिन्छन् । लखन थापा राम शाहको समयको अन्तिमतिर रहेको अनुमान ‘पूर्णिमा’ पूर्णाङ्क २७ (आश्विन २०२९ः१६२)मा इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन् । राम शाहको राज्यकाल बाबुराम आचार्यले वि.सं. १६६३ देखि १६९०सम्म भनेका र दिनेशराज पन्तले वि.सं.१६७१ देखि १६९३ भएको निष्कर्ष निकालेको प्रसँग माथि परिसकेको छ । गोरखा वंशावलीअनुसार तपस्या गर्दै, विद्या सिक्दै र कचहरीमा न्याय निसाफ गर्दै राम शाहको अघिल्लो समय बितेको र पछिल्लो समय मात्र राज्य विस्तार अभियानमा उनी लागेका देखिन्छन् । राज्य विस्तार अभियानको प्रारम्भिक चरणमा बारपाक हात पार्ने क्रममा च्याग्या–सुर्तानको हत्या गरिएको भन्ने देखिदा चाग्याको हत्या वि.सं. १६९० देखि १६९३ भित्र भएको हुन सक्छ । राम शाहकै आदेशमा चाग्याका भाई सुर्तानको पनि हत्या गरिएको हुँदा चाग्याको हत्या भएको केही महिनापछि सुर्तान हत्या भएको थियो ।

यस्तै राम शाहभन्दा अघि उनका दाजु छत्र शाह र त्यसअघि उनका बाबु पूर्ण शाहले शासन गरेका थिए । पूर्ण शाहको समयमै गोरखासँग द्वन्द्व गर्दै नुन रोक्ने र पछि गोरखासँग मित्रता गाँसी नुन पठाउने तथा नुनका लागि गोरखाको बाटो खुलाउने काम पनि चाग्या–सुर्तानले गरेका देखिदा हत्या भएको समयमा यी दुई दाजु भाईको उमेर केही प्रौढावस्थामा पुगिसकेको थियो भन्ने अनुमान पनि गर्न सकिन्छ ।

http://hknepali.com/ बाट

Published on, 27 April 2017 (13 Baisakh 2074)

 

Posted by on Apr 26 2017. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com