निर्वाचनमा सहभागीसँगै पहिचान र अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

काठमाडौं, २० वैशाख । पहिचान र अधिकार प्राप्तिको संघर्ष जारी राख्दै जनताको संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, लोकतन्त्रलगायत उपलब्धीहरूको रक्षा गर्न घोषित स्थानीय तहको पहिलो चरणको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल सहभागी हुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
काठमाडौंको तिनकुनेस्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘स्थानीय निर्वाचनमा सहभागी हुँदैमा संविधान संशोधनको मुद्धा कदापि छोड्दैनौं,’ पत्रकारहरूसँग कुरा गर्दै यादवले भने, ‘सरकारले गठबन्धन र मोर्चासँग गरेको प्रतिबद्धताअनुसार संविधान संशोधन नभए दोश्रो तहको निर्वाचन तराई–मधेसमा हुन सक्दैन ।’
संविधान संशोधनका लागि व्यवस्थापिका–संसदमा आवश्यक दुई तिहाई मत पुग्ने अवस्था सुनिश्चित भएको बेला नाटकीय रुपले राजनीतिक घट्नाक्रम विकसित भएकोले परिवर्तन पक्षधरहरूमा शंका उत्पन्न भएको समेत यादवको भनाइ थियो ।
संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी भएकोले कुनै क्षेत्रमा निर्वाचनमा जाने र कुनैमा नजाले भन्ने हुन नसक्ने यादवले बताए, ‘मधेसी, आदिवासी जनजाति, शिल्पी, धार्मिक अल्पसंख्यकलगायतको अधिकार सुनिश्चित नभएसम्म पार्टीले जुनसुकै बेला र जुनसुकै खाले लडाइँ लड्ने कुरा स्पष्ट छ । निर्वाचनमा जानुको अर्थ मुद्धा छोडिएको होइन बरु परिस्थितीअनुसार संघर्षको स्वरुपमा अघि बढिएको हो ।’
राजपाका केही नेताहरूले मोर्चाको औचित्य सकिएको भन्ने खबर बाहिर आएकोप्रति इंगित गर्दै पहिचान र अधिकार प्राप्तिका लागि अझ बृहत मोर्चा वा गठबन्धन जरुरी भएको समेत यादवले बताए, ‘पूर्व राजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा टिलिक्क तल्केर गएका एक नेताले मोर्चाको औचित्य सकियो भन्दैमा सकिदैन र लोकतन्त्र हामीलाई सिकाउन सुहाउँदैन ।’
पुष्पकमल दाहाल नेतृत्वको सरकारले ६ जना मधेसी जनताको हत्या गरेकाले सरकारलाई दिइएको समर्थन फिर्ता गरिएको हो, नेता यादवले भने, ‘तर राजपाका साथीहरूले किन त्यही सरकारलाई समर्थन गर्नुभयो त्यो उहाँहरूको अधिकारको कुरा हो ।’
संविधान संशोधन, स्थानीय तहको निर्वाचन र जारी आन्दोलनलगायत वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा ससफो नेपालका वरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्षहरू रकम चेम्जोङ, हेमराज राई, लालबाबु राउत, महासचिवद्वय रामसहायप्रसाद यादव र रणध्वज कन्दङ्वा, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिवहरू अजम्बर राई काङमाङलगायत केन्द्रीय नेताहरूको उपस्थिती रहेको थियो ।
स्थानीय तहको पहिलो चरणको प्रदेश नं. ३, ४ र ६ को निर्वाचनमा संघीय समाजवादी फोरम र नयाँ शक्तिले गत मंगलबार संयुक्त रुपमा उम्मेदवारीहरु दिएका छन् ।

Posted by on May 3 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com