सञ्चारमाध्यमको स्वायत्तता खोइ ?

भारतीय डिजिटल पत्रिका ‘द वायर’ का लागि पत्रकार सिद्धार्थ वरदराजनले भारतकी प्रसिद्ध इतिहासविद् रोमिला थापरसँग भारतको समकालीन राजनीतिमा राष्ट्रियता र सञ्चारमाध्यमको भूमिकाबारे गरेको अन्तरवार्ताको संक्षेपीकृत अनुवाद :


भारतमा आलोचनात्मक सोच धरापमा परेको हो ? फरक विचारलाई नसुन्ने, नायक पुज्ने, राष्ट्रप्रति अति भक्ति दर्साउने काम अति भइरहेको छ । डोनाल्ड ट्रम्पको राष्ट्रपतीय चुनाव वा युरोपका राजनीतिक आयाम हेर्दा थाहा पाइन्छ यो विश्वव्यापी चरित्र हो । हामीमा अहिले सञ्चारमाध्यमको अवस्था खतरनाक भएको छ । अवस्था यस्तो आएको छ, न्यायपालिका, व्यवस्थापिका, केन्द्रीय बैंक आदि जहाँसुकै हस्तक्षेप छ । आलोचनात्मक सोच धरापमा परेको यस्तो बेलामा सार्वजनिक बुद्धिजीवीहरू (पब्लिक इटलेक्चुअल) को भूमिकाबारे के भन्नुहुन्छ ? उनीहरूले के गरिरहेको हुनुपर्छ ?
अँ, तपाईंले थुप्रै कुराहरू उठाउनुभयो । ‘पब्लिक इन्टलेक्चुअल’ को बारेमा कुरा गर्नुअघि के भनौँ भने, हामी सबै जनाजस्तै म पनि एकदम डिस्टर्ब महसुस गरिरहेकी छु । त्यो पनि हाम्रो देशमा भइरहेको कुराले मात्रै होइन, विश्वव्यापी कुराले । ट्रम्पको चुनावी यात्रा त्यसको सुरुआत जस्तैजस्तै थियो । त्यसले केही प्रश्न खडा गरेको छ जसको उत्तर म दिन्छु । हामीले सधैँ–सधैँ प्रशंसा गरिरहने आलोचनात्मक सोधखोज अहिले किन गुमाइरहेका छौँ ?
हामी सधैँ निर्वाचनमा आश्रित भयौँ । प्रतिनिधित्वमा भर पर्‍यौँ— जनताको प्रतिनिधित्व र तिनको विचारको प्रतिनिधित्व कसरी गर्ने र अझ, हामी बहुमतीय चलनमा विश्वास गर्‍यौँ । यत्ति काफी छ कि योभन्दा पर पुग्नु छ हामीलाई ? शक्तिमा आएकाहरूले आफू निम्नवर्गीय मानिसको भोटले माथि आएको हो भन्ने बुझ्नुपर्छ कि पर्दैन ? एक तिहाइ त खासै बहुमतीय भोट पनि होइन, तर प्रक्रिया यस्तो छ कि उनीहरूलाई शक्तिमा आउनैपरेको छ । ट्रम्पले पाएको भोट पनि उल्लेखनीय भोट होइन ।

मलाई लाग्छ, अधिकार, लोकतन्त्र नै आधारभूत संस्था हुन्, त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा आममानिसले मज्जाले बुझ्नुपर्छ । त्यसलाई अझ प्रतिनिधिमूलक बनाउने, मानिसलाई अझ सहभागीमूलक कसरी बनाउनेभन्दा पनि भोटको कुराचाहिँ महत्त्वपूर्ण बनिरहेको छ । मैले भन्न खोजेको कुरा के भने, हामीले त्यस भोटलाई कसरी बलियो बनाउँछौँ भन्ने हो । भोटलाई एकदम प्रभावकारी बनाउन हामी कसरी केही गर्छौं र भोट हाल्न आउन आममानिसलाई कसरी उत्साहित गर्छौं भन्ने पनि महत्त्वपूर्ण छ । किनभने, भोट हाल्न नजाने र घरमै बसेर, ‘मलाई व्यवस्था मन पर्दैन । मलाई केही रुचि छैन, मैले भोट हाल्दिनँ ।’ भन्ने जमात छ । प्रश्नका यी डफ्फालाई हामीले सम्बोधन गर्नुपर्छ ।
मैले सोचेको अर्को कुरा पनि छ, अमेरिका प्रजातान्त्रिक मुलुक मात्रै होइन अत्यन्तै शिक्षित समाज भएको देश पनि हो । हाम्रोमा चाहिँ शिक्षामा के समस्या भयो ? यही कुरा अहिले गम्भीर भएर विचार गर्नुपरेको छ । यो कुरा भारतमा पनि उत्तिकै लागू हुन्छ । कति जनाले सोधेका हुन्छन् होला, ‘बच्चालाई के पढाइरहेका छौं ?’ भन्दै ? बच्चालाई हामीले सूचना दिइरहेका हुन्छौँ, त्यो सूचना फेरि भन्न लगाउँछौँ । पूर्वनिर्धारित प्रश्न र उस्तै उत्तर सिकाउँछौँ हामी बच्चालाई । मलाई लाग्छ, कुनै पनि शैक्षिक व्यवस्थाको महत्त्वपूर्ण पाटो बच्चालाई आलोचनात्मक ढंगले सोच्न सिकाउने र प्रश्न गर्न सिकाउने पनि हो । हामी यो गरिरहेका छैनौँ । हामीसँग त्यस्ता मन्त्री छन् जसले भन्छन्, ‘तपाईँहरूलाई प्रश्न सोध्ने अनुमति छैन ।’

वा यस्तो पो हो कि– प्रश्न सोध्ने काम अराष्ट्रिय कुरो हो कि ? वा तपाईंले कालो धनबारे प्रश्न सोध्नुहुन्छ किनभने तपाईंसँग कालो धन छ ?
यो व्यर्थको कुरा हो । यसलाई सुधार गर्नुपर्छ । किनभने, शिक्षाको उद्देश्य आममानिसलाई आलोचनात्मक प्रश्न गर्न प्रशिक्षण दिनु हो । जबसम्म प्रश्न गर्ने नागरिक राज्यले जन्माउन सक्दैन तबसम्म लोकतन्त्रको बौद्धिक बहसमा आममानिसको सहभागिता हुन एकदम गाह्रो हुनेवाला छ । यो एकदम महत्त्वपूर्ण छ । अमेरिकामा एकदम राम्रा विद्यालय छन् भन्ने त थाहै छ । तर, उनीहरू के पढाउँदै छन् ? खासमा उनीहरूले के पढाउँदै छन् होला त ? वा त्यहाँका नागरिकको आलोचनात्मक सोच विश्वविद्यालयमा अध्ययन गर्न थालेपछि मात्रै आउँछ ? तैपनि अधिक अमेरिकीमा त त्यो पनि छैन । त्यसैले, जन्मजातै सुन्दर ठानिने प्रजातान्त्रिक व्यवस्थाका संस्थाहरूलाई अहिले हामीले चनाखो भएर हेर्नुपर्छ, अझ आलोचनात्मक दृष्टिले हेर्नुपर्छ । शासन व्यवस्थामा चनाखो दृष्टि लगाउनुपरेको छ । र, शिक्षाविद् र अन्यले के जान्नुपर्‍यो भने यसका लागि पब्लिक इन्टलेक्चुअलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
मैले भनिरहेकी छु, पब्लिक इन्टलेक्चुअलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भनेर । तर, उनीहरूलाई परिभाषितचाहिँ कसरी गर्ने ? ती त्यस्ता व्यक्ति हुन् जो केही पेसामा छन्, भनौँ न प्रोफेसनल व्यक्तिहरू । त्यस्ता व्यक्ति हुन् उनीहरू जो आफ्नो पेसामा सम्मानित छन् । ती जोकोही नहुन पनि सक्छन्, जो कुनै पत्रकार नहुन पनि सक्छन् । त्यस्ता पत्रकार पनि हुन सक्छन् जो प्रतिष्ठित छन्, वा त्यस्ता समाज वैज्ञानिक पनि हुन सक्छन् जो प्रतिष्ठित छन् । वा त्यस्ता व्यक्ति पनि हुन सक्छन् जो सम्मानित छन् । त्यस व्यक्तिले प्रसार गर्न खोज्ने ज्ञान तडकभडकयुक्त होइन विश्वासिलो होस्, उसलाई त्यही कारण सम्मान मिल्छ । ऊ ठिंग उभिएर घोक्रो फुल्ने गरी चिच्याउने मात्रै होइन कि आफूले के बोलिरहेको छु भन्ने पनि जानोस् । त्यस्तो व्यक्तिको नैतिकता पनि हुनुपर्छ जुन हामीले हिजोआजको राजनीतिक दुनियाँमा बेस्सरी गुमाइरहेका छौँ । शासन सञ्चालनमा समेत त्यो नैतिकता गुमाइरहेका छौँ । शिक्षामा पनि गुमाइरहेका छौँ । यो नैतिक हो कि होइन ? भनेर सधैँ–सधैँ सोधिरहन हामीले धेरै ढिलो गरिसकेका छौँ । मलाई लाग्छ, यही प्रश्न सोधाइ नै पब्लिक इन्टलेक्चुअलको निर्माणमा निकै महत्त्वपूर्ण कुरा हो ।
समाजसँग पब्लिक इन्टलेक्चुअलको सम्बन्ध छ, नागरिक समाजसँग उनीहरूको सम्बन्ध हुन्छ, आमनागरिकको अधिकार, कर्तब्य र बाध्यताहरूसँग पनि सम्बन्ध हुन्छ । उनीहरूको सवाललाई अघि ल्याइएको छैन, ल्याउनैपर्ने हुन्छ । पब्लिक इन्टलेक्चुअलले आमनागरिकको अधिकार रक्षा गर्न अघि लाग्नैपर्छ, त्यो अति नै महत्त्वपूर्ण छ । जब आममानिसहरूलाई अनैतिकताले घेर्छ, हल्लाखल्लाले हैरान खेलाउँछ त्यो रक्षा त्यति बेला आधारभूत कुरा हुनुपर्छ । त्यति बेला, पब्लिक इन्टलेक्चुअलहरू आएर, ‘माफ गर्नुस्, हाम्रो यो काम होइन !’ नभनुन् ।

केही समययता तपाईंले प्रश्न सोध्ने कुरामा जोड दिइरहनुभएको छ । यो अहिले हाम्रो समयको समस्या हो । यसबारे बोल्नुपर्ने शैक्षिक फाँटले हो तर प्रश्न गर्ने कामचाहिँ सञ्चारमाध्यमको पनि हो । पत्रकारका रूपमा मैले देखेँ, पहिले पत्रकारिता गर्नेहरूको सत्तासीनसँग प्रतिद्वन्द्विता हुन्थ्यो र त्यसमा गर्व महसुस हुन्थ्यो । तर, अहिले राज्यलाई सतर्क गराइरहन र भित्री वा बाहिरी शत्रुविरुद्धको लडाइँमा राज्यलाई तयार राख्न ठूला सञ्चारमाध्यमले पाएकोमा उनैले गर्व गर्ने अहिलेको दिनसम्म हाम्रो पत्रकारिता पुगेको छ । यसले मलाई झस्काउँछ । यस मुलुकमा भइरहेको सञ्चार संस्कृतिको विकासबारेका यथार्थले तपाईंलाई कत्तिको झस्काउँछन् ? तपाईं टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ मलाई थाहा छैन तर त्यहाँ रातदिन बबाल भएको देखिराखिन्छ ।
मैले टीभीमा समाचार हेर्न किन छाडेँ भने त्यो एकदम अपाच्य हुन थाल्यो । टीभी अगाडि बसेर के आइराखेको छ हेर्ने र यस्तो कसरी गर्न सकेका ? भन्दै कराउनेबाहेक केही गर्न सकिन्न । थुप्रै च्यानलहरू त जानीजानी अन्टसन्ट समाचार बनाउँछन् । अन्य च्यानलमा त, प्रश्न सोध्न पनि पाइँदैन । कति च्यानलले आदिवासी गाउँमा गएर त्यहीँका आदिवासीसँग कुरा गरे होला ? कतिलाई सोधे होला, उनीहरूले नक्सलवादलाई किन समर्थन गर्छन् भनेर ? एकदम थोरै । त्यसमा संलग्नलाई नसोधेर सधैँ नै दिल्ली बस्नेलाई सोधिन्छ । जवाफ पनि उसैले दिन्छ । एकाध च्यानलबाहेक कसैले यो काम गर्दैन । सञ्चारमाध्यमको भूमिका त्यस्तो झुर काम गर्ने होइन । होला कसैले भन्लान्, सञ्चारमाध्यमको काम मनोरञ्जन दिलाउने मात्रै हो भनेर जुन म स्वीकार्दिनँ । मलाई लाग्छ, सञ्चारमाध्यम सूचनाको माध्यम हो भने त्यसले धेरै काम गर्नुपर्छ । त्यसले गम्भीर छलफल चलाउनुपर्छ । मैले हरेकपटक मिडियासँग कुरा गर्दा सोध्छु, तिमीहरूको छलफलको स्तर किन बढाउँदैनौ ? वा, विषयमा विज्ञ सही व्यक्तिसँग साँझमा आधि घण्टा छलफल किन चलाउँदैनौ ? उनीहरू भन्छन्, हामीले ग्राहक–दर्शक गुमाउनुपर्छ । अनि, म किन हेरौँ उनीहरूलाई ?

त्यसो भए, हाम्रा दर्शकले चाहेको कुरा हामी देखाइरहेका छौँ भन्ने उनीहरूको कुरा तपाईंमा लागू हुँदैन ?
हुँदैन । मलाई लाग्छ, पाठकको माग केही परिस्कृत कुरा दिएर पनि पूरा गर्न सकिन्छ । पाठक बढाउन सकिन्छ । उदाहरणको रूपमा, फ्रेन्च टेलिभिजनले वर्षौंअघि एउटा कार्यक्रम सुरु गरेको थियो, जुन आधि घण्टा वा ४० मिनेट चलाउँछन्, पुस्तक समीक्षाबारे । उनीहरूले कुनै एउटा पुस्तक लिन्छन् र त्यसबारे तीन जनासँग बहस गर्छन् । यो कार्यक्रम फ्रान्समा निकै चर्चित भएको छ । अहिले फ्रान्स अति शिक्षित देश होइन, औसत हो । अन्य युरोपियन मुलुकझैँ । मलाई के लाग्छ भने, फरक–फरक मानिसले हेरेर बसेका हुन्छन् तिनलाई अनि भेराइटीका कार्यक्रम देखाउन पर्‍यो नि । तर, के पनि सचेत हुनुपर्‍यो भने, पस्किने फरक–फरक कार्यक्रमको गुणस्तर अलिकति भए पनि राम्रो हुनैपर्‍यो । सञ्चारमाध्यमले यस कुरालाई महत्त्व दिँदैनन् । समस्या देखिँदा त्यसबाट पीडितसँग पुग्दै पुग्दैनन् । समस्या के हो ? कसरी समाधान गर्न सकिन्छ ? इत्यादिबारे कुरै गर्दैनन् । परको कुर्सीमा बसेर यो सब काम हुँदैन । बाहिर निस्किनैपर्छ जुन यथेष्ट भइरहेको छैन ।

अहिले सरकार वा सम्बन्धित अधिकारीले सञ्चारमाध्यमलाई विश्वविद्यालयमा परिचालित गर्ने गरेका छन् ताकि विश्वविद्यालयको आलोचनात्मक सोचाइ, स्वायत्तता र फरक विचारमाथि हमला गर्न सघाउ पुगोस् । केही विद्यार्थीले नारा लगाइरहेको वा प्राध्यापकले लेक्चर दिइरहेको क्लिप्स देखाएर नागरिकलाई उचाल्ने काम अहिले नयाँ र खतरनाक भइरहेको छ ।
अहिले सञ्चारमाध्यमको धन्दा त वास्तविकता देखाउने नभएर भड्काव प्रदर्शन गर्ने भइरहेको छ । यो त सञ्चारमाध्यमको बिल्कुल फरक काम हो । सन् २०१५ मा असहिष्णुताका कुरा भइरहेका थिए । केही टीभी च्यानलले मलाई अन्तरवार्ता दिन अनुरोध गरे ।
केहीमा दिएँ पनि । मैले मेरो कुरा बिल्कुल सीधा ढंगमा राखेँ । दुइटा महत्त्वपूर्ण च्यानलले अन्तरवार्ता दिन अनुरोध गरे । हामीले समय र मिति तय गर्‍यौँ । तर, मलाई फोन पो आयो, ‘माफ गर्नुहोला, हामीले स्वीकृति पाएनौँ ।’ लौ ! दस मिनेटको अन्तरवार्ता देखाउन, ‘माथि बसिरहेकाको आदेश’ चाहिएछ । अनि, भन्नुस्, सञ्चारमाध्यमको स्वायत्तता खोइ के ?

ठीक भन्नुभो । सञ्चारमाध्यममा सधैँ–सधैँ समस्या छ यो देशमा । म विगत २० वर्षयता पत्रकारिता गरिरहेको छु । ६ जना प्रधानमन्त्री हुँदा काम गरियो– नरसिंह राओ, एचडी देवगौडा, अटल बिहारी वाजपेयी, इन्दर गुजराल, मनमोहन सिंह र अहिले नरेन्द्र मोदी । अहिले वातावरण अर्कै छ । सञ्चारमाध्यमका मालिकले जोखिम मोल्न चाहँदैनन्, जनतालाई प्रश्न सोध्न दिँदैनन् र झुर बहस देखाउँछन् वा ओपएड लेख मात्रै छाप्छन् । हामीसँग प्राज्ञिक स्वतन्त्रता र सञ्चारमाध्यम त अझै पनि छन् तर प्रश्न सोध्नुपर्ने केही महत्त्वपूर्ण क्षेत्रको ढोका ढप्काइएको चाहिँ छ ।
त्यसका कारण छन् । तपाईँले ढोका लगाउनुहुन्छ किनभने, फरक विचार सुन्न चाहनुहुन्न तपाईं, सबैले तपाईँलाई ‘जी हजुर’ गरून् भन्ने चाहनुहुन्छ । त्यसो गर्नुहुन्छ किनभने, तपाईंले असुरक्षित महसुस गर्नुहुन्छ । तपाईं ढुक्क भएर भन्न सक्नुहुन्न, ‘केही फरक पर्दैन । कसैले फरक विचार राख्न सक्छन् कसैले केही ।’ तर जब तपाईं प्रतिपक्षी विचारसँग डराउनुहुन्छ तब मान्छेलाई चुप लगाउने धन्दा नै गर्न रोज्नुहुन्छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीले केही नाराबाजी गरे भनेर ‘अराष्ट्रिय’ (एन्टी नेसनल) भनिएको छ, विद्रोह गर्न खोजेको आरोप लगाइएको छ । मान्छेलाई ‘भारत माता कि जय’ भन्न लगाइएको छ । त्यसो भन्न नमान्नेलाई अराष्ट्रिय भनिएको छ । आतंकवाद, सर्जिकल स्ट्राइक, ब्ल्याक मनीविरुद्धको अभियान इत्यादि चलाइएको छ । सरकारलाई साथ दिन नमानेमा तपाईंमा देशभक्ति नभएको भनिन्छ । भर्खर–भर्खर पनि सर्वोच्च अदालतले आदेश दियो, सिनेमाहलमा राष्ट्रियगान बजाउन । राष्ट्रवाद किन यसरी हावी हुन थाल्यो ? सार्वजनिक बहसको भाषै राष्ट्रवादी देखिन थाल्यो । यी सबै कुराले मलाई पत्रकारको रूपमा चिन्तित बनाउँछ । मलाई लाग्छ, इतिहासविद्का रूपमा तपाईंलाई पनि चिन्तित बनाउँछ । ‘राष्ट्र’ ले प्राप्त गरेका यी सबै कुरालाई कसरी हेर्नुहुन्छ ?
मलाई लाग्छ, यो राष्ट्रवाद मात्रै होइन । निश्चित किसिमको राष्ट्रवाद हावी भएको हो । एउटा समस्या के हो भने, राष्ट्रवाद भनेको इतिहासको कुनै कालखण्ड होइन, वैदिक काल पनि होइन, गुप्ता काल पनि होइन, न त मुगल काल हो । यो त्यस्तो अवस्था हो जब समाज औद्योगिकीकरण, पुँजीवादतर्फ लम्किन्छ र समाजका महत्त्वपूर्ण खण्डका रूपमा मध्यम वर्ग देखिन थाल्छ । राष्ट्रवादले फरक–फरक समुदायलाई नयाँ पहिचान र व्यवस्था दिन्छ । तपाईं देशको रैतीबाट नागरिक बन्नुहुन्छ । राज्यहरूको संगठनको क्रमबाट राष्ट्र बन्छ । पहिले तपाईंसँग कुल भएको समाज थियो, राजतन्त्र थियो राजा थिए, सम्राट् थिए । र, अहिले तपाईंसँग नेसन–स्टेट छ । जहाँ राज्य नै राष्ट्र हो । राष्ट्रवादले सबै समुदायलाई एउटै छातामुनि ल्याउँछ, नागरिकको रूपमा नयाँ पहिचान दिन्छ र त्यो पहिचान नै समतामूलक पहिचान हो । सामाजिक न्यायमा समान अधिकार, स्रोतहरूसँगको समान पहुँच र बाँडफाँट । नागरिकलाई मानवअधिकारको ग्यारेन्टी पनि हुन्छ । फरक–फरक समूहमा धार्मिक, जातीय वा भाषिक समूहमध्ये कसैलाई प्राथमिकता दिनुपर्छ । हिन्दु राष्ट्रमा हिन्दुहरूको स्थान माथि होला जुन बीजेपी र संघ परिवारको अहिलेको प्राथमिकता पनि हो । त्यसैले, यहाँ राष्ट्रवाद भनेर बुझ्ने कुरो र उनीहरूले बुझ्ने कुरो (हिन्दु राष्ट्रवाद) मा विरोधाभास छ । यी सबै बुझाइ एउटै कुरा होइनन् । लोकतान्त्रिक विधिको समाज, जहाँ तपाईं सबैको प्रतिनिधित्वबारे कुरा गर्नुहुन्छ त्यहाँ कोही नागरिक अरूभन्दा ठूलो छ भन्न तपाईं पाउनुहुन्न । सबै बिल्कुल बरोबर हुनैपर्छ ।

अनुवाद: सिपी अर्याल

पुनःप्रकाशित: २८ जेष्ठ , २०७४ ।

http://kantipur.ekantipur.com/ बाट

Posted by on Jun 11 2017. Filed under Breaking News, Slide News, अन्तरवार्ता, पत्रपत्रिकाबाट, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com