वर्णको समाजशास्त्र

– अजय दास

छालाको रंगको आधारमा विभेद (कलरिज्म्) वा रूढिबद्धता (स्टिरियोटाइपिङ) गरिनु कुनै नौलो कुरा होइन । वर्षौंदेखि भइआएको यो निकृष्ट अभ्यास संसारका विभिन्न देशमा भिन्न–भिन्न स्वरूपमा आजपर्यन्त कायम छ । हाम्रो शिक्षा प्रणालीमै सेतो वा गोरो भनेको राम्रो र कालो भनेको कम–असल, दिन भनेको उत्तम रात भनेको खराब, दाहिने भनेको असल देब्रे भनेको नजाती भनेर सिकाइएको हुन्छ । समस्याको सुरुआत यहींबाट हुन्छ । कालो वा ध्वाँसो वर्णको व्यक्ति हुनु भनेको गोरो वर्णभन्दा कम सुन्दर वा कुरूप हुनु हो भन्ने ‘डिस्कोर्स’ लाई यसरी मलजल गरिएको छ कि यसले दक्षिण एसिया मात्र होइन कतिपय अन्य एसियाली र अफ्रिकी देशमा समेत गोरो बनाउने शृंगार–प्रशाधन सामग्रीको व्यवसायलाई अर्बौंको कारोबार बनाएको छ । ‘गोरो भनेको सुन्दर’ भन्ने उपभोक्ताहरूको यही मनोविज्ञानलाई भजाउँदै सौन्दर्य प्रशाधनको यो व्यवसायले अत्यन्तै ठूलो आकार ग्रहण गरेको छ । गोरोपन मात्र कसैको सौन्दर्य मापन गर्ने आधार होइन, कालो वर्णका व्यक्तिहरू पनि सुन्दर हुन्छन् भन्ने सचेतना जगाउन भारतीय अभिनेत्री नन्दिता दासलगायतका अभियन्ताहरूले ‘डार्क इज ब्युटिफुल’ अभियान नै चलाएका छन् । धार्मिक मिथकहरूलाई नै हेरौं, कृष्ण वा श्यामको अर्थ कालो हो र भगवान् श्रीकृष्ण कालो वर्णका थिए तर तिनलाई समेत कालो रंगबाट टाढा राख्न अचेल हल्का नीलो रंगको तस्बिर वा मूर्ति बनाउने गरिन्छ ।
नेपालका पछिल्ला दुईवटा सन्दर्भले कसैको छालाको रंगको आधारमा गरिने विभेद र दुव्र्यहारसम्बन्धी बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ । यसपटक मिस नेपाल चयन भएकी मोरङकी मारवाडी चेली निकिता चन्दकको वर्णलाई लिएर सामाजिक सञ्जालहरूमा यति धेरै टीकाटिप्पणी भएकी कतिले उनलाई ‘मधेसीले कसरी मिस नेपालको ताज पायो’ भनेर होच्याउने मात्र होइन भारतीय नागरिकको बिल्लासमेत भिराए । यहाँनिर वर्णचाहिँ स्पष्ट रूपमा जात र समुदायसँग मिसिन पुग्यो ।


मिस नेपाल हुन कथित ‘गोरी सुन्दरी’ रंग–रूपको हुनुबाहेक सौन्दर्यका अरू धेरै गुणहरू चाहिन्छ भन्ने बिर्सिइयो । सुन्दरताको ‘एलिट’ परिभाषाभित्र निकिता अटाइनन् र सौन्दर्यको परम्परागत मान्यतालाई उनको जितले चुनौती दियो । व्यक्तित्वभन्दा वर्णलाई महत्त्व दिने अनुदार समुदायका लागि यो अपाच्य भयो ।


अर्को एक घटनामा निर्वाचन आयोगको सार्वजनिक हितमा जारी एक भिडियो सन्देशमा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ लाई मुहारमा अस्वाभाविक रूपले कालो पोतेर मधेसी महिलाको रूपमा देखाइयो जुन अत्यन्तै विवादास्पद भयो ।
यी दुवै प्रसंगमा ख्यातिप्राप्त व्यक्ति र संस्थाहरू जोडिएकाले यसमा तत्काल पक्ष र विपक्षमा प्रतिक्रियाहरू देखियो र केही हदसम्म त्यसको परिणाम पनि । सामाजिक सञ्जालमा बहसहरू सुरु भए र सेलाए पनि । ती बहसहरूले छालाको रंगको आधारमा विभेद (कलरिज्म) वा रूढिबद्धता (स्टिरियोटाइपिङ) का घटनाहरू हाम्रो समाजमा सदियौंदेखि भई आएका छन् र बेला–बेला कुनै न कुनै रूपमा उजागर भइरहन्छन् भन्ने देखायो ।
सुन्तलीलाई अनुहारमा कालो नपोतेर वेशभूषा र लवजकै आधारमा पनि मधेसी महिलाको रूपमा प्रस्तुत गर्न सकिन्थ्यो तर भिडियो बनाउनेले यो कुराको हेक्का राखेनन् । उनले मधेसी काला नै हुन्छन् र कुनै कलाकारको अनुहारमा कालो मेकअप गरियो भने ‘खाँटी मधेसी’ देखिन्छ भनेर सुने–पढे त्यही सिको गरे । त्यस्तै मिस नेपाल त कोही गोरो वर्णको ‘अति सुन्दर’ महिला हुनुपथ्र्यो ‘यो तराईकी ध्वाँसी’ कहाँबाट आइन् जस्ता टिप्पणी सुनियो । मिस नेपाल हुन कथित ‘गोरी सुन्दरी’ रंग–रूपको हुनुबाहेक सौन्दर्यका अरू धेरै गुणहरू चाहिन्छ भन्ने बिर्सिइयो । सुन्दरताको ‘एलिट’ परिभाषाभित्र निकिता अटाइनन् र सौन्दर्यको परम्परागत मान्यतालाई उनको जितले चुनौती दियो । व्यक्तित्वभन्दा वर्णलाई महत्त्व दिने अनुदार समुदायका लागि यो अपाच्य भयो । वर्णलाई आधार बनाएर निकिताको वैयक्तिता (इन्डिभिजुआलिटी) लाई नकार्ने काम भयो ।
कुनै पनि समुदाय वा व्यक्तिलाई उसको छालाको रंग वा अरू कुनै गुण–अवगुणको कारणले एउटा खास पेसासँग जोडेर पूर्वाग्रही धारणा बनाउनु रूढिवाद हो । जस्तै : काला वर्णका राम्ररी नेपाली बोल्न नसक्ने जति खाली सिसी र पुराना कागज वा सब्जी–फलफूल बेच्ने मधेसी नै हुन्छन्, त्यस्तै रोजगारीका लागि भारत जाने सबै नेपाली उनीहरूका नजरमा बहादुर वा दरबान नै हुन्छन भन्नु रूढिबद्धता हो । एक जना भारतीयले नेपालीलाई बहादुर भन्दा हाम्रो आत्मसम्मानमा ठेस पुग्छ, पीडा हुन्छ किनकि उसको आशय त्यहाँ काम गर्ने नेपालीलाई होच्याउने हुन्छ । तर नेपालकै मधेसीहरूलाई वर्णको आधारमा होच्याउने वा हेप्ने गरिएका कति घटनाहरू सुनिन्छन् यसले समग्र मधेसीहरूको आत्मसम्मानमा पनि उत्तिकै ठेस पुग्छ, उनीहरूको अपमान हुन्छ भन्ने हेक्का राखिँदैन । किन यस्तो फरक बुझाइ र व्यवहार ? त्यतिखेर कहाँ जान्छ हाम्रो संवेदनशीलता ?
परिस्थिति फेरिएको छ । जातीयताको आधारमा गरिने पेसाहरूसमेत समयको मागअनुसार साटफेर भइरहेका छन् । कतै बाहुन–क्षत्रीले पनि कपाल काट्ने र खसी काट्ने व्यवसाय अँगालेका छन् भने हजामले रेस्टुराँ खोलेका छन् । समयको यही प्रवाहलाई बुझेर सोचमा परिवर्तन ल्याउने कि उही विभेदकारी नीति र रूढिबद्धतालाई समातेर बस्ने ? यो अहम् प्रश्नमा खुलेर बहस होस् भन्ने यो लेखको आशय हो न कि कुनै खास जातिविशेषलाई होच्याउने वा उचाल्ने ।


राज्य पुनर्संरचनाका विभिन्न आयामहरूमा बहस भइरहेको बेला भाषिक र वर्णको विविधतालाई स्वीकार गरी त्यसलाई सम्मान गर्ने आधारहरू पनि तय गरिनुपर्छ । यसले ध्रुवीकृत भइरहेको नेपाली समाजको विविधतालाई विभाजनमा जानबाट रोक्छ, जुन अहिलेको आवश्यकता हो ।


कालो वर्णको भएकै कारण कोही फरक छ र फरक भएकै कारण तल्लो स्तरको छ र ऊसँग दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिन्छ । उसको पृथक् पहिचानलाई नकार्ने काम गरिन्छ । हरेक मनुष्यमा फरक प्रकृतिको व्यक्ति हुन्छ र त्यो नै उसको पहिचान हो । पछि परिवार, समाज, देश, काल, परिस्थितिले त्यो व्यक्तिमाथि आफूअनुकूल विभिन्न पहिचान थोपरेको हुन्छ । त्यसमध्ये कतिपय पहिचान उसलाई मन पर्छ कतिपयले उसलाई तिरस्कृत र बहिष्कृत बनाउँदै लान्छ ।

मधेसी भन्नेबित्तिकै कालो हुनुपर्ने वा कालो वर्णको व्यक्ति मधेसी नै हुन्छ भन्ने बुझाइले माथि उल्लिखित दुईवटा प्रसंग विवादास्पद भएको हो । पहाडी मूलकै भए पनि कालो वर्णको कुनै व्यक्तिलाई पहिलोपटक देख्नेले ‘यो मधेसी हुनुपर्छ’ भन्ने अनुमान गर्नु र एक जना गोरो मधेसी देख्नेबित्तिकै ‘यो पहाडी हुनुपर्छ’ भने दुराग्रहसहितको पूर्वानुमान गरेर ऊसँग त्यहीअनुरूप व्यवहार गर्नु हाम्रो समाजको दैनिकीजस्तो भएको छ ।
पंक्तिकारलाई थर सुन्दा कतिले ‘थर त मधेसी जस्तो छ तर कस्तो राम्रो नेपाली बोल्छौ, कहाँबाट सिक्यौ ? मान्छे पनि अलि गोरो नै छौ, कुनै कोणबाट पनि मधेसीजस्तो देखिँदैनौं’ भनेर विभिन्न अवसरमा पटक–पटक सोधिएको र त्यसको जवाफमा अलि ठट्यौली पारामा रोजगारीको अवसरका लागि शुद्घ नेपाली बोल्न सिकियो भन्ने गरेको छु । शुद्घ नेपाली बोल्न नसक्दो हुँ भने विगतमा रेडियो र टेलिभिजनमा समाचारवाचकको रुपमा काम गर्ने अवसर सम्भवत: पाउने थिइनँ होला । चाहे मधेसी हुन् वा जनजाति भाषामा पकड नभएकै कारण गैरनेपालीभाषी नेपालीहरू थुप्रै अवसरहरूबाट वञ्चित हुँदै आएका छन् । ‘शुद्ध नेपाली’ बोल्न नजानेर बेलाबखत उनीहरू लघुताभासको सिकार हुन्छन् । वर्ण मात्र होइन भाषा र लवज पनि केही समुदायलाई पछि पार्न महत्त्वपूर्ण कारकको रूपमा रहिआएको छ । परम्परागत रूपमा वर्ग, लिंग, जात, जातीयता, धर्म र क्षेत्रीयताको आधारमा हुने विभेदहरूबारे चर्कै बहस भए पनि वर्ण र भाषाको आधारमा गरिने विभेदहरूबारे पर्याप्त र खुलस्त छलफल भएको पाइँदैन ।


सुन्तलीलाई अनुहारमा कालो नपोतेर वेशभूषा र लवजकै आधारमा पनि मधेसी महिलाको रूपमा प्रस्तुत गर्न सकिन्थ्यो तर भिडियो बनाउनेले यो कुराको हेक्का राखेनन् । उनले मधेसी काला नै हुन्छन् र कुनै कलाकारको अनुहारमा कालो मेकअप गरियो भने ‘खाँटी मधेसी’ देखिन्छ भनेर सुने–पढे त्यही सिको गरे ।


यो यहाँको मात्र समस्या होइन पश्चिमा मुलुकहरू विशेषगरी अमेरिकामा भएका अध्ययनले कालो वर्णको व्यक्तिले सजिलै जागिर नपाउने वा उसको आम्दानी गोराहरूको भन्दा कम हुने देखाएको छ । वर्णको आधारमा विभिन्न अवसरबाट कसैलाई वञ्चित गरेर विभेदपूर्ण व्यवहार गर्नुले ती देशमा पनि कम समस्या ल्याएको छैन । केही अफ्रिकी देशका युवा समुदायमा गोरो देखिने फेसनले यति जरो गाडेको छ कि ती देशमा व्यंग्यात्मक उखान ‘इफ इट्स ह्वाइट, इट्स अल राइट’ नै चलनचल्तीमा छ ।
नेपाली समाजमा विगतमा भएका अनेकौं आन्दोलन र अभियानहरूको परिणामस्वरूप वर्ण र लवजका आधारमा गरिने दुव्र्यवहारहरूमा केही हदसम्म कमी आएको छ तर पूर्णरूपले हटेको भने देखिँदैन । यसका लागि केही थप कदम चालिनु जरुरी छ । नेपाली राज्यको पुरानो संरचना यस्तो थियो कि राज्यका शक्ति केन्द्रहरू (साधन स्रोत र राजनीति) मा गोरा अनुहारहरूको वर्चस्व स्थापित हुन गयो । त्यो शक्तिशाली वर्गको प्रभुत्वले समाजमा यो धारणा बन्न गयो कि त्यस्तै अनुहारका मानिसहरू मात्र योग्य र शक्तिशाली हुन्छन् । ती अनुहारहरूसँग केही जात र थरहरू पनि जोडिए । ती शक्तिका स्रोतहरूमा कुनै कालो अनुहार वा फरक जात थरका मानिस संयोगले पुगेछ भने उसको योग्यता र निष्ठामाथि अनेकन शंका उठ्थ्यो । मिस नेपालको प्रसंगमा त्यही भएको हो । त्यसैले समाजिक संस्कार र सोचको प्रभाव राज्यमा र राज्यको संरचना एवं संस्कारको प्रभाव समाजमा पर्ने भएकाले दुवै ठाउँमा केही थप संरचनागत परिवर्तनहरू नभएसम्म रंगको आधारमा गरिने विभेद वा व्यवहारमा आमूल परिवर्तन आउन सक्दैन् ।
नेपाली समाजको संरचना र विभिन्न समुदायबीचको सम्बन्ध ‘भर्टिकल’ छ । मौका पाउनेबित्तिकै एउटाले अर्कोलाई विभिन्न शब्दवाणले होच्याउने गरी सम्बोधन गर्ने प्रवृत्ति आमरूपमै छ । शक्तिशाली र सम्भ्रान्तहरूलाई त्यस्ता सम्बोधनले प्राय: खासै फरक पार्दैन तर हेपिएकाहरूका लागि त्यस्ता अपमानजनक सम्बोधनले नराम्ररी घोच्छ, यो कटुसत्य हो । राज्य पुनर्संरचनाका विभिन्न आयामहरूमा बहस भइरहेको बेला भाषिक र वर्णको विविधतालाई स्वीकार गरी त्यसलाई सम्मान गर्ने आधारहरू पनि तय गरिनुपर्छ । यसले ध्रुवीकृत भइरहेको नेपाली समाजको विविधतालाई विभाजनमा जानबाट रोक्छ, जुन अहिलेको आवश्यकता हो । सोचमा परिवर्तन ल्याउन पक्कै पनि समय लाग्ला तर अहिलेलाई भने ‘म त कालो छातालाई ओढ्दै न ओढ्नाले’ र ‘हमकाले है तो क्या हुआ दिलवाले है’ गीत गुनगुनाउँदै अनि हरेक व्यक्तिको पृथक् व्यक्तित्व र पहिचानलाई सम्मान गर्दै रमाउने हो ।

यी लेखकका निजी विचार हुन् ।

प्रकाशित: असार ३, २०७४

http://kantipur.ekantipur.com/ बाट

पुन:प्रकाशितः ५ असार, २०७४

Posted by on Jun 18 2017. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “वर्णको समाजशास्त्र”

  1. LeYCV5 I reckon something really interesting about your internet blog so i bookmarked.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com