ससफो नेपालको केन्द्रीय बैठकमा नयाँ शक्तिसँगको एकीकरणबारे विशेष छलफल
काठमाडौं १०, साउन । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि राजधानीमा सुरु हुँदैछ । काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीन दिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुप र नयाँ शक्तिसँगको एकीकरणसम्म छलफल हुने बताइएको छ ।
संघीयता, गणतन्त्र र परिवर्तनका लागि विभिन्न समयमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकमा एउटा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने दिशातर्फ अग्रसर रहेको ससफो नेपालले यसबीच नयाँ शक्ति पार्टीसँग जारी राखेको पार्टी एकीकरणको एजेन्डाको विषयमा पनि बैठकमा विशेष छलफल हुने बताइएको छ ।
स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समिक्षा एवं छलफल हुनेछ । यसैगरी, स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावको लागि नयाँ रणनीति बैठकले तय गर्ने समेत ससफो नेपालका केन्द्रीय सदस्य तथा कार्यालय उपसचिव रेखा यादवले बताए ।
यसअघि विभिन्न पार्टी परित्याग गरी ससफो नेपालमा प्रवेश गरेका नेता तथा ससफो नेपालसँग एकीकरण गरेका दलका नेताहरुलाई दिइएको पदीय भूमिकालाई केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।