‘स्मृति सभा’ गर्दै डा. हर्क गुरुङलाई आदिवासी जनजातिले सम्झिए

काठमाडौं, ८ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले डा. हर्क गुरुङको ११औँ स्मृति सभा आयोजना गरी गुरुङले पुर्याएको योगदानको चर्चा परिचर्चा गरेर सम्झना गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ र वैकल्पिक विकास अध्ययन केन्द्र (सिड्स)द्वारा संयुक्त रुपमा ललितपुरको कुपन्डोलमा असोज ७ गते शनिबार दिउँसो स्मृति सभा गरी डा. हर्क गुरुङ र समग्र देश र समाजका लागि उनले पु¥याएको योगदानबारे चर्चा गरेर सम्झिएको हो ।
डा. हर्क गुरुङ, तत्कालिन वनमन्त्री गोपाल राई, पर्यावरणविद् डा. चन्द्रबहादुर गुरुङलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय चिरपरिचित व्यक्तित्वहरूको सन् २००६ सेप्टेम्बर २३ तारिखमा ताप्लेजुङको घुन्सामा हेलिकोप्ट दुर्घटनामा परी दुःखद निधन भएको थियो ।
स्मृति सभामा नेफिनका अध्यक्ष जगतबहादुर बराम, पूर्व राजदुत प्रा. डा. नोवलकिशोर राई, डा. हर्क गुरुङको विद्यार्थी काल देखिका साथी त्रिलोकसिंह थापा मगर र पारिवारिक सामिपमा रहेका पूर्व उपसचिव तथा अधिवक्ता खड्कबहादुर गुरुङ, नेफिनका पूर्व महासचिव बालकृष्ण माबुहाङ, डा. सुमित्रा मानन्धर गुरुङ, नेफिनका उपाध्यक्ष गोबिन्द छन्त्याल र महासचिव नित्यानन्द ताजपुरिया लगायतले विचार राखेका थिए ।
त्यसैगरी, स्मृति सभामा नेफिन पूर्व महासचिव प्रा.डा. ओम गुरुङ, नेफिनका उपाध्यक्षहरू लोकबहादुर दुरा, सोनाम वालुङ र सचिवहरू सुकवीर थामी, लाक्पा ढोक्प्या, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका पूर्व उपाध्यक्ष जितपाल किराँत, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, सुनुवार समाजका अध्यक्ष रणवीर सुनुवार, किरात याक्खा छुम्माका अध्यक्ष लिल रोगु याक्खा, दुरा सेवा समाजका अध्यक्ष गोकुलप्रसाद दुरा, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष जिएस गुरुङ, राष्ट्रिय महिला महासंघका सचिव नानु थामी, भाषाविद् अमृत योञ्जन–तामाङलगायतको उपस्थिती रहेको थियो ।
डा. हर्क गुरुङको विचार, दर्शन, सिद्धान्तलाई अहिलेको समय सापेक्ष आदिवासी जनजाति आन्दोलनले के कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुरा नै प्रमुख भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले स्मृति सभामा बताए ।
‘नेपालको आदिवासी जनजाति आन्दोलनसँग २०६४ साउन २२ गते नेपाल सरकारले सहमति गर्दा डा. हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्ने सहमति भए पनि अहिले सम्म डा. हर्क गुरुङजस्तो बहुआयामिक व्यक्तित्वलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा नगरेर अपमान गरेकोप्रति निन्दा व्यक्त गर्दछु,’ महासंघका अध्यक्ष बरामले कार्यक्रममा भने, ‘यसका लागि महासंघले गम्भिरतापूर्वक लिएर नेपाल सरकारसँग फेरि आग्रह गर्नेछ ।’
कसैले सोच्दै नसोचेको भन्न, बोल्न र गर्न सक्ने ‘प्रतिउत्पन्नमति’ क्षमता हुनुका साथै आफ्नो विषयमा ‘अथोरिटि’ भएकाले सबैले मान्नैपर्ने व्यक्तित्व डा. हर्क गुरुङ भएको पूर्व राजदुत प्रा.डा. नोवलकिशोर राईले स्मृति सभामा बताए ।
डा. हर्क गुरुङजस्तो व्यक्तित्वबारे ३ सय ६५ दिनमा एक दिन सम्झने कार्यक्रम गरिनु राम्रो र आगामी दिनमा पनि गर्नुपर्नेमा डा. राईले जोड दिए ।
‘हर्क दाई शनिबारको दिन कुनै पनि कार्यक्रममा जानु हुन्नथ्यो,’ डा. हर्क बारेको प्रसङ्ग उप्काउँदै प्रा. डा. राई भने, ‘उहाँ भन्नु हुन्थ्यो–‘राजा हुँदा राजाले बोलाउँदा त म शनिबार नजाने, राजा नहुँदा कोले बोलाउँछ, म जान्न ।’ तर आजको उहाँप्रति समर्पित कार्यक्रम संयोगले शनिबार नै परेछ । मैले पनि शनिबार कुनै पनि कार्यक्रममा नजाने भनेर उहाँको नक्कल गर्न प्रयास गरेँ तर म असफल भएँ ।’
‘डा. हर्कबहादुर गुरुङसँग मेरो दुई प्रकारको सम्बन्ध थियो,’ विद्यार्थी कालदेखिका डा. हर्कका साथी त्रिलोकसिंह थापा मगरले कार्यक्रममा भने, ‘एक, हामी एउटै त्रिचन्द्र कलेजमा पढ्थ्यौं र होस्टेलमा पनि सँगै बस्थ्यौं । अर्को, जागिर समय र काठमाडौंमा उहाँको र मेरो बसाईं एउटै ‘एरिया’तिर भएकोले प्रायः नियमित भेटघात ।’
डा. हर्कबहादुर गुरुङ फुटबल, हक्कीलगायत खेलमा समेत निपुण भएको त्रिलोकसिंह थापाले स्मरण गराए ।
डा. हर्कबहादुरजीको योगदान नेपालको बृहत क्षेत्रमा रहेको बताउँदै थापाले भने, ‘ क्षेत्रगत विकास, समावेशी विकास, बसाइँसराईंसम्बन्धी योजनालाई राज्यले सही ढंगले अबलम्बन गर्न सकेको भए देशको समृद्धिको बृद्धिमा थप सुधार र सामाजिक अन्तरद्वन्द्व कम हुने थियो ।’
‘डा. हर्कबहादुर गुरुङको नेतृत्वमा सन् १९८२–८३ मा बृहत अध्ययन गरेर तयार पारिएको बसाइँसराईं प्रतिवेदनलाई सरकारले ‘एडप्ट’ गर्न नसक्दा तराई–मधेसका माटोका सन्तानहरू राजनीतिक, आर्थिक स्रोतबाट क्रमशः बञ्चित हुँदै गइरहेका छन्,’ थापाले भने, ‘बसाइँसराईं प्रतिवेदनको गहिराइमा नै नपुगी प्रतिशोध साँधेर विरोध गरिएको गन्ध आउँछ ।’
स्वर्गीय डा. हर्क गुरुङको सम्झना गरिरहँदा उहाँको अनुपस्थितीमा नेपालको बौद्धिक व्यक्तित्वकै अभाव भएको अनुभूति भइरहेको नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङले स्मृति सभामा बताए ।
‘तत्कालिन समयमा म महासचिव हुँदा एक साल विश्व आदिवासी दिवस अगष्ट ९ को दिन दुई जना व्यक्तित्वहरू डा. हर्क गुरुङ र मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरलाई सम्मान गर्ने निर्णय गरियो,’ महासचिव हुँदाको प्रसङ्ग उप्काउँदै माबुहाङले भने, ‘सम्मान गर्ने निर्णय भएको कुरा उहाँलाई भेटेर भन्दा उहाँले तुरुन्तै मान्नुभएन । उहाँले के भन्नुभयो भने– ‘यो मुलुकचाहिँ दिन प्रतिदिन ओरालो लागेको छ, यो वाहियात काम नगर् माबुहाङ, मबाट यो स्वीकार्य हुँदैन । हामी फर्कियौं । फर्केर आइसकेपछि बेलुकी फोन गरेर भन्नुभयो– मलाई गरिने सम्मान व्यक्तिगत फाइदा भन्दा पनि संस्थालाई सकारात्मक प्रभाव पर्छ भने मैले बिचार गरेँ ।’
अहिलेको अवस्था हेर्दा पनि मुलुकको अवस्थामा कुनै सुदृद्ध भएको देखिदैन बरु ३ सय ६५ दिन नै सम्मान खाइरहेको देखिन्छ र अहिले पनि उहाँको भनाइ त्यत्तिकै सान्दर्भिक रहेको समेत माबुहाङले स्मरण गराए ।
‘डा. साब जस्तो मान्छे उस्तै कुरा र व्यवहार गर्नुहुने र पारिवारिक खानपिनसँगै केटाकेटी, बुढाबुढी सबैसँग रमाइलो पनि गर्ने स्वभावको हुनुहुन्थ्यो,’ डा. हर्क गुरुङको पारिवारिक समिपमा रहेका खड्कबहादुर गुरुङले स्मृति सभामा बताए ।
‘राजाले दरबारमा बोलाएर राजाले हर्क तिमी निर्दोष छौ भन्ने कुरा मलाई थाहा छ, तर यहाँ संसदमा माननीयहरूले धरै हंगामा मच्चाइरहेका छन्, त्यसैले तिमीले मन्त्री छोड्नुपर्छ भने हट्नुभयो,’ पञ्चायत कालको कार्पेट काण्डको प्रसङ्ग जोड्दै गुरुङले भने,‘मलाई राजा चाहिएको होइन, राजालाई म चाहिएको थियो, राजालाई मलाई प्रयोग गरे, अब मलाई पनि राजा चाहिँदैन भनेर माननीयबाट पनि राजीनामा दिनुभयो । पञ्चायतकालिन समयमा राजाको चाकडी गरेपछि शक्तिमा आउने समयमा पनि कुनै मतलब गर्नुभएन बरु एउटा न्यु एरा संस्था स्थापना गरेर स्वतन्त्र रुपले जीवनको अन्तिम घडीसम्म अध्ययन अनुसन्धान गर्दै सम्बद्ध हुनुभयो ।’
डा. हर्क गुरुङजस्तो ज्ञानको भण्डारयुक्त व्यक्तित्वबाट सिक्नुपर्ने कुराहरू धेरै भएको र उहाँको प्राज्ञिक लेखनहरूबाट झन् अझ आजका युवापुस्ताले ज्ञान लिने कुरा विषद् भएको नेफिनका उपाध्यक्ष गोबिन्द छन्त्यालले स्मृति सभामा जोड दिए ।
आदिवासी आन्दोलनका लागि सगरमाथाको टुप्पोजस्तो व्यक्तित्वको स्मृति सभा नेफिनले गर्नुपर्छ भन्ने ठानेर यो कार्यक्रम आयोजना गरिएको नेफिनका महासचिव नित्यानन्द ताजपुरियाले बताए, ‘डा. हर्क गुरुङ आदिवासी जनजाति आन्दोलनको निधि त हुनुहुन्थ्यो नै सिङ्गो देशको पनि निधि हुनुहुन्थ्यो ।’
डा. हर्क गुरुङबाट आफूले धेरै सिक्ने अवसर पाएको र सिक्ने मान्छेका लागि उहाँको भूमिकाको अभाव अहिलेसम्म नै खड्किरहने डा. सुमित्रा मानन्धर गुरुङले स्मृति सभामा बताए ।
त्यसैगरी, डा. हर्क गुरुङका प्रकाशनहरबाट नेपालको समाज विज्ञानसँग सम्बन्धित जे खोज्यो, त्यो भेटिने र अझ कसैले नेपाललाई बुझ्न मन लाग्छ भने डा. हर्क गुरुङले लेखेको ‘भिग्न्याट्स अफ नेपाल’ वा अनुवादित पुस्तक ‘मैले देखेको नेपाल’ पढ्न नेपाल सरकारका पूर्व सहसचिव टोयानाथ भट्टराईले कार्यक्रममा सुझाए ।

Posted by on Sep 23 2017. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com